दसैँ नजिकिँदै जाँदा गत साल के भएको थियो ? हामी सबैलाई थाहै छ । दसैँको ठिक एक साताअघि बाढीपहिरोमा परी करिब २५० जनाले ज्यान गुमाएका थिए, सयौँ घाइते भए । थुप्रै विस्थापित भए ।
यो दर्दनाक घटनालाई यसकारण स्मरण गरियो, यस वर्ष पनि दसैँ आउन १५ दिन बाँकी रहँदा काठमाडौँमा १७ र इटहरीमा २ जना गरी १९ जनाले (यो पछिल्लो अपडेट) एकै दिन अमूल्य जीवन गुमाए । सयौँ जेनजी युवा घाइते छन् ।
फरक यति हो, गत साल प्राकृतिक विपत्ति वैरी भएको थियो, यसपालि आफ्नै सरकार यमराज ।
बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेनजी पुस्ताका युवायुवतीले सोमबार देशव्यापी प्रदर्शनको आह्वान गरेका थिए । तर शान्तिबाट भएको सुरुवात बर्बर हिंसामा परिणत हुन पुग्यो ।
सोमबार बिहान माइतीघर मण्डला पुग्दै गर्दा जेनजी पुस्ताले कल्पना पनि गरेका थिएनन् होला, आफ्ना १७ जना साथीले प्रहरीको गोलीले ज्यान गुमाउलान् भनेर । तर जे नसचेको त्यही भइदियो ।
जेनजी पुस्ताले जनाउ दिएको प्रदर्शनको समय नजिकिँदै जाँदा काठमाडौँको माइतीघरमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ दिए । प्रदर्शनमा सहभागी जेनजीहरुले भ्रष्टाचार विरोधी र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धका प्लेकार्डहरू बोकेका थिए ।
त्यसमध्ये एउटा प्लेकार्डमा मिठो गरी लेखिएको थियो, ‘डियर पुलिस, हुज साइड आर यु अन टुडे रु अस अर द करप्टेड लिडर्स ।’
जेनजीहरुले प्लेकार्डमार्फत प्रहरीलाई सोधेका रहेछन्, ‘हामीलाई साथ दिने कि भ्रष्टाचारमा डुबेका नेतालाई ?’
तर माइतीघरमा त्यस्तो ब्यानर देखाएका जेनजी प्रदर्शनकारीहरू बानेश्वर पुग्दा अवस्था अर्कै भइदियो । प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवनको प्रवेश द्वारमा पुग्दा प्रहरीले अन्धाधुन्ध गोली बर्सायो । नजिकैको सिभिल अस्पतालमा घाइतेहरूलाई लगियो । प्रहरी अस्पताल परिसरमा समेत अश्रुग्याँस प्रहार गर्न पुग्यो ।
नजिकै अर्को अस्पताल एभरेस्टदेखि राष्ट्रिय ट्रमा सेन्टरसम्मका बेड घाइतेहरूले भरिएका छन् । तीमध्ये कतिको अवस्था चिन्ताजनक छ l
प्रविधि उपयोगको हिसाबमा ‘जेनेरेसन’को वर्गीकरण गरिने अन्तर्राष्ट्रिय अभ्यास छ । यस अर्थमा जेनजी भन्नाले सन् १९९७ देखि २०१२ सम्म जन्मिएको पुस्ता हो । जो अहिले १३ वर्षदेखि २८ वर्षबिचको उमेर समूहमा छ ।
अन्य मुलुकका जेनजी झैँ नेपाली जेनजी पनि तुलनात्मक रूपमा इन्टरनेट र सामाजिक सञ्जालको बढी प्रयोग गर्दै हुर्कियो । यो पुस्ताले विश्व देखेको छ, एउटा डिभाइसमा हातको औँला चलाउँदै । विकासको चरम स्थितिमा पुगेका देशहरू नियालेको छ । ती देशको सिस्टम देखेको छ, रहनसहन देखेको छ ।
अनि उसले आफ्नो देशलाई फर्किएर हेर्दा केही पाउँदैन । जताततै भ्रष्टाचार, बेथिति, अस्तव्यस्त प्रणाली मात्रै । यो सब देखेर बिरक्तिएको नेपाली जेनजी पछिल्लो समय सरकारले मुख्य सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि झनै आक्रोशित बन्यो ।
‘विना परिश्रम’ नेताका छोराछोरीको लक्जरी लाइफलाई लिएर केही समय पहिलेदेखि नै सामाजिक सञ्जालमा यो पुस्ताले ‘नेपो बेबी विनर, जनता लुजर’ अभियान चलाइरहेकै थियो । यसको अर्थ उनीहरू भ्रष्टाचार विरोधी अभियानमा जोडिँदैथे । तर सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदमले उनीहरूको आक्रोशको पारो अरू चढाइदियो । त्यसपछि उनीहरू सडकमा आएर बढ्दो भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा सरकारविरुद्ध आन्दोलनमा उत्रिए । जुन दिन हो आज अर्थात् २०८२ भदौ २३ गते ।
तर शान्तिपूर्ण आन्दोलन बर्बर हिंसामा परिणत हुँदा देशलाई नै स्तब्ध बनाएको छ । यसरी ‘जेनजी मुभमेन्ट’ले आह्वान गरेको शान्तिपूर्ण आन्दोलनलाई किन र कसरी रणभूमिमा परिणत भयो ? गम्भीर प्रश्न उब्जिएको छ । यसको कारक केही त आन्दोलनकारी युवाको आवेग हो, धेरै चाहिँ सरकारले विवेक गुमाएको हो । विभिन्न विकल्प हुँदाहुँदै प्रहरीले गोली नै बर्साउनु बर्बरताको हद हो ।
जेनजीले सोमबार गरेको प्रदर्शनको नेतृत्व घोषित रूपमा कसैले पनि गरेका थिएनन् । उनीहरू टिकटकजस्ता सामाजिक सञ्जालमा जोडिएर स्वतःस्फूर्त रूपमा आन्दोलनमा जोडिएका हुन् । उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन विपक्षी दलहरूदेखि काठमाडौँ महानगरका मेयर बालेन शाह, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसम्म मात्र होइन, दुर्गा प्रसाईंसम्मको होडबाजी चल्यो । प्रसाईंले त प्रदर्शनमा साथ दिन आफ्नो टिम आउनेसम्मको कुरा गरेका थिए ।
तर सुझबुझ भएको अहिलेको जेनजी पुस्ताका अगुवाहरूले आफ्नो आन्दोलन ‘नेतातन्त्र’ विरुद्ध भएको र कोही पनि नेता नचाहिने भन्दै प्रसाईँलाई भेटेरै फर्काइदिए थिए ।
यसरी उनीहरू आफैँ नेता बनेर होइन, सामूहिक नेतृत्वमा स्वतःस्फूर्त आन्दोलनमा उत्रिएकोमा शङ्का गरिरहनु पर्दैन । तर भीडमा सबैको सोच एकै हुँदैन । सबैलाई चिन्न पनि सकिँदैन । यस्तै बेला हो, व्यवस्थापन गर्ने टिम नहुँदा कुनै पनि आन्दोलन भड्किने सम्भावना हुने ।
जेनजी मुभमेन्टले सोमबारको आन्दोलनमा यति धेरै सहभागिता हुने आङ्कलन गरेको पनि थिएन । तर सरकारका काम र कार्यशैलीविरुद्ध सबैभन्दा बढी रुष्ट जेनजी युवाहरू ठुलो सङ्ख्यामा प्रदर्शनमा सहभागी भए । यसको व्यवस्थापनको प्रणाली नबनाउँदा भीड नियन्त्रणमा सकस भयो ।
कतिपयले भनेजस्तो घुसपैठ भएको भए अर्कै पाटोबाट अनुसन्धान गर्नुपर्ला । जे भए पनि आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग गर्दा हिंसात्मक बनेको तथ्य लुकेको छैन । सार्वजनिक फोटो र भिडियोहरूले सुरक्षाकर्मीले संयम गुमाएको स्पष्ट देख्न सकिन्छ । माइतीघरदेखि नयाँ बानेश्वरको निषेधित क्षेत्र नपुग्दासम्म प्रहरीले प्रदर्शनकारीलाई रोक्ने जाँगर देखाएको देखिएन l नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेपछि भने भीड नियन्त्रणमा सिधै गोली प्रहार गरेको देखिन्छ । चैत्र १५ को तीनकुने घटनाको नक्कल गरेर प्रदर्शनकारीको दोष देखाएर जेनजीनहरुमाथि निर्मम दमन गरेर आन्दोलन दबाउन सरकारद्वारा रचिएको नियोजित चालबाजी त थिएन यो कतै ?
एकै दिन नयाँ बानेश्वरमा मात्रै १७ होनहार युवाको ज्यान लिने सरकारलाई के भन्ने ? क्रूरताको मामिलामा तत्कालीन राजा ज्ञानेन्द्रलाई पनि माथ गरेको छ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले-कांग्रेस गठबन्धन सरकारले l २०६२/६३ को १९ दिने जनआन्दोलनमा २५ जनाले ज्यान गुमाएका थिए । हुन त मृत्युलाई तुलना गर्नु न्यायपूर्ण हुँदैन, यो तुलना क्रूरताको गरिएको हो । व्यवस्था बदल्ने जनआन्दोलनमा भएको कुल मानवीय क्षति जति जेनजीको भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रदर्शनमा एकै दिन हुनु भनेको क्रूरताको कुन हद हो ?
जेनजीले त्यस्तो के माग राखेका थिए र ? ‘भ्रष्टाचार बढ्यो, नियन्त्रण गर’, ‘हाम्रो पुस्ता बिदेसिन बाध्य छ, देशभित्रै केही गर्ने वातावरण बनाइदेऊ’, ‘जेनजी सामाजिक सञ्जालसँगै हुर्कियो, यसलाई नखोस’, ‘सामाजिक सञ्जालबाट आम्दानी गरिरहेकाहरूलाई भोको नबनाऊ’ । यस्तै माग त थिए उनीहरूका । त्यस्तो माग गर्नेको ज्यानै लिनुपर्छ सरकार ? कलिला युवामाथि गोली बर्साएर ज्यान लिनु कि बहादुरी हो सरकार ?
देशका युवामा बढेको ‘फ्रस्टेसन’को समाधान कसरी गर्ने भन्ने ध्याउन्नमा छैन सरकार । किन बिदेसिने बाध्यतामा छ युवा भन्नेमा चासो राख्दैन सरकार । अनि गरिखाने वातावरण बनाऊ, गरिखाने माध्यम नखोस भनेर आन्दोलनमा उत्रिएका युवालाई गोली बर्साएर बहादुरी देखाउने होइन सरकारले, सरकारमा बस्नेले ।
बानेश्वर घटनाको निष्पक्ष छानबिन हुनुपर्छ । अस्पताल परिसरभित्रै धरपकड, अश्रुग्याँस र गोली चलेका खबरहरू आइरहेका छन् । अस्पतालमा समेत यस्तो घटना किन हुन पुग्यो ? प्रश्नहरू यथेष्ट उठेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीले अन्धाधुन्ध घातक बल प्रयोग गरेको निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराइसकेको छ । प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरूको यथोचित रूपमा समयमै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइसकेको छ ।
सरकार नागरिकको अभिभावक हो । उसैले अहिलेको परिस्थितिलाई सम्हाल्न उच्च नैतिकता देखाउनुपर्छ । तर नैतिकता एकादेशको कथाजस्तै हुन लागेको नेपाली राजनीतिमा यति सोच्नु अलि टाढा नै हुन्छ होला ।