उपराष्ट्रपति रामसहायप्रसाद यादवले निजी वनको दिगो व्यवस्थापन अति आवश्यक रहेको बताएका छन्। सोमबार काठमाडौंमा पारिवारिक निजी वन संघले नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले मुलुकमा काष्ठ र गैरकाष्ठ वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले बढ्दो बसाइँसराई, महत्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित शहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तिब्र चाहना र आवश्यकता जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतीहरुलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भई अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।
उनले वातावरण संरक्षण र वनको दिगो विकासका चुनौतीहरुलाई अवसरका रूपमा परिणत गर्नका लागि सरोकारवाला बीचको सहकार्य, समन्वय र सहभागिताको आवश्यकता निर्विकल्प रहेको पनि बताए।
उनले खेर गइरहेको निजी आवादी जमिनमा हरियाली बनाउन छिटो, छरितो बढ्ने विरुवाहरुको वृक्षारोपण अभियान सञ्चालन गरी जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्न सकिने बताए।
उनले भने, ‘निजी वनको दिगो व्यवस्थापन अति आवश्यक छ। मुलुकमा काष्ठ र गैरकाष्ठ वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्न सक्दछ। बढ्दो बसाईंसराई, महत्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित शहरीकरण,जनताको पूर्वाधार विकासप्रतिको तिब्र चाहना र आवश्यकता जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतिहरुलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भइ अघि बढ्नुपर्दछ।’
उपराष्ट्रपति यादवले जलवायु परिवर्तनको असर न्युनीकरण तथा अनुकूलनका लागि निजी वनले पुर्याएको योगदानको समीक्षा र मूल्यांकन हुन जरुरी रहेको बताए।