स्मृति बस्याल कपिलवस्तु
जिल्लाको आर्थिक, सामाजिक, शैक्षिक तथा पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित आयोजना हुन लागेको १७औँ कपिलवस्तु महोत्सवको तयारीले गति लिन थालेको छ।
महोत्सवलाई भव्य, सभ्य र व्यवस्थित बनाउन आयोजकले शिक्षा क्षेत्रसँग सहकार्य र समन्वयलाई प्राथमिकता दिएको छ।
सोही क्रममा २०८३ साल मंसिर ६ गते मूल समारोह समितिका संयोजक गणेशबहादुर क्षेत्रीको अध्यक्षतामा निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) का प्रमुख तथा प्रतिनिधिहरूसँग महत्वपूर्ण छलफल भएको छ। बैठकमा महोत्सवमा विद्यालयहरूको सक्रिय सहभागिता, विद्यार्थी प्रतिभा पहिचान तथा प्रदर्शन, शैक्षिक र सिर्जनात्मक कार्यक्रम सञ्चालन, सांस्कृतिक प्रस्तुतिमा विद्यार्थीको सहभागिता र महोत्सवको प्रचारप्रसारलाई प्रभावकारी बनाउने विषयमा सहकार्य गर्ने अवधारणालाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै, विद्यालय र आयोजकबीच समन्वय बढाउँदै महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी शिक्षा, संस्कृति, स्थानीय उत्पादन र प्रतिभा प्रवर्द्धनको साझा उत्सव बनाउने अपेक्षा गरिएको छ।
आयोजकको यो पहलले १७औँ कपिलवस्तु महोत्सवलाई थप आकर्षक र अर्थपूर्ण बनाउने विश्वास गरिएको छ।
महोत्सव केवल व्यापार र मनोरञ्जनको मञ्च होइन, जिल्लाको पहिचान र सम्भावना उजागर गर्ने साझा अवसर पनि हो।




