स्मृती बस्याल
कपिलवस्तु ।
१७औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८३ को प्रमुख आकर्षणका रूपमा रहने १५औँ कपिलवस्तु डान्स आइडल तथा दोस्रो मम्मी डान्स आइडलको पहिलो अडिसन राउण्ड सुरु भएको छ। मंसिर ५ गते शनिबारदेखि सुरु भएको अडिसनको पहिलो दिनदेखि नै सहभागीहरूको उत्साहजनक उपस्थिति देखिएको छ।
नृत्यकलामा रुचि राख्ने नवप्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागीहरूको आकर्षण बढ्दै गएको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रत्यक्ष उपस्थित भएर मात्र नभई डिजिटल माध्यमबाट समेत सहभागी हुन सकिने व्यवस्था गरिएको छ। आयोजकले इच्छुक सबै प्रतिभालाई प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ।
जीतपुर–४ स्थित उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन भइरहेको अडिसन कार्यक्रम १५औँ कपिलवस्तु डान्स आइडलका संयोजक विष्णु भट्टराई मल्लको अध्यक्षतामा तथा १७औँ कपिलवस्तु महोत्सव मूल समारोह समिति संयोजक गणेशबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा अघि बढाइएको छ।
कार्यक्रममा महोत्सव निर्देशक हुमनाथ पौडेल, वाणिज्य उपाध्यक्ष नारायणप्रसाद पौडेल, महासचिव नवदत्त घिमिरे, सहकोषाध्यक्ष कृष्णप्रसाद गैरे, सदस्य खिलप्रसाद शर्मा, प्रेस संयोजक अशोक पौडेल तथा निर्णायक हरि शरण रिजाललगायतको उपस्थिति रहेको थियो।
१७औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी यही मंसिर १७ गतेदेखि २९ गतेसम्म बाणगंगा नगरपालिका–४ स्थित बुद्ध रंगशालामा आयोजना हुँदैछ।
महोत्सवलाई व्यापारिक तथा औद्योगिक गतिविधिमा मात्र सीमित नराखी मनोरञ्जन, कला, संस्कृति र प्रतिभा प्रस्फुटनको साझा मञ्चका रूपमा विकास गर्ने उद्देश्यले डान्स आइडल तथा मम्मी डान्स आइडल सञ्चालन गरिएको हो।
विशेषगरी स्थानीयस्तरमा लुकेर रहेका नृत्य प्रतिभाको पहिचान, प्रोत्साहन र प्रवद्र्धन गर्दै उनीहरूलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ। महोत्सवको सांस्कृतिक तथा मनोरञ्जनात्मक आकर्षण थप बढाउने विश्वास गरिएको यस प्रतियोगिताले दर्शक र सहभागी दुवैमा उत्साह थप्ने अपेक्षा गरिएको छ ।




