बार्साको पुनरागमन जित


९ माघ २०८१, बुधबार  

98
Shares


च्याम्पियन्स फुबटलमालिभरपूलले फ्रेन्च क्लब लिल्ललाई हराएको छ। लिभरपूलको एनफिल्ड रंगशालामा भएको खेलमा घरेलु टिम २–१ गोल अन्तरले विजयी भएको हो।

मिडफिल्डर मोहम्मद सलाहले खेलको ३४ औं मिनेटमा नै इङ्लिस टोलीलाई अग्रता दिलाएका थिए। सलाहको गोलसँगै पहिलो हाफमा लिभरपूल एक गोलले अघि थियो। दोस्रो हाफको ६२ औं मिनेटमा लिल्लको लागि जोनाथन डेविडले गोल गरेपछि खेल १–१ गोलको बराबरीको अवस्थामा पुगेको थियो।

बराबरीको अवस्थाबाट हर्भे इलियटले गोल गरेर फेरि लिभरपूललाई अग्रता दिलाए। उनले च्याम्पियन्स लिगमा सन् २०२२ को अक्टोबरमा आयाक्सलाई गोल गरेपछि पहिलो पटक गोल गरेका हुन्।

यसबीच खेलको ५९ औं मिनेटमा लिल्ल १० खेलाडीमा समेटिन पुग्यो। लिभरपूलका लुकास डियाजलाई फउल गरेपछि एइसा मेन्डीलाई रेफ्रीले दोहोरो पहेंलो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए। लिल्लले गोल गर्दा नै १० खेलाडीमा समेटिएको थियो।

गए रातिको जितसँगै च्याम्पियन्स लिगमा शतप्रतिशत जित कायम राख्ने एक मात्रै टोली लिभरपूल नै हो।

च्याम्पियन्स लिगमा गएराति नै भएको खेलमा बार्सिलोनाले बेन्फिकालाई ५–४ ले पराजित गरेको छ। पोर्टुगलमा बार्सिलोनाले रोमाञ्चक कमब्याक गर्दै तीन अंक जोडेको हो।

बार्सिलोनाको जितमा रोबार्टो लेवान्डोस्की र राफिन्हाले समान दुई गोल गरेका थिए। एरिक ग्रासियाले एक गोल थपे। यसअघि घरेलु टोली बेन्फिकाको लागि ग्रिसका भान्गेलिस पाभ्लिदिसले ह्याट्रिक गरेका थिए। बार्सिलोनाका रोनाल्डो अरौजोले आत्माघाति गोल गरेका हुन्।

खेलको पहिलो गोल दोस्रो मिनेटमा गर्दै घरेलु टोलीले बार्सिलोनालाई दबाबमा राखेको थियो। पहिलो हाफमा घरेलु टोली ३–१ ले अघि थियो। ६८औं मिनेटसम्म ४–२ ले पछि परेको बार्सिलोनाले खेलमा उत्कृष्ट कमब्याक जित निकाल्यो।

जितपछि बार्सिलोना च्याम्पियन्स लिगको दोस्रो स्थानमा उक्लिएको छ। ७ मध्ये पाँच खेल जितेको बार्सिलोनाको १८ अंक छ। शीर्ष स्थानको लिभरपुलको २१ अंक छ। १० अंकसहित बेन्फिका १८औं स्थानमा रह्यो।

च्याम्पियन्स लिग अन्तर्गत नै गए राति भएको खेलहरूमा बोलोग्नाले बोरुसिया डर्टमन्डलाई हराएको छ। इटालीको युभेन्टस भने क्लब ब्रुगसँग गोलरहित बराबरीमा रोकिएको छ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ११ : ४२ बजे