सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राउतलाई प्रधानन्यायधीशमा नियुक्त गरेका हुन् ।
यसअघि असोज १६ गते राउतको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदित भएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ मा अनिवार्य अवकाश गएपछि राउतले न्यायालयको नेतृत्व सम्हाल्ने जिम्मा पाएका हुन् । राउतको कार्यकाल प्रधानन्यायाधीशका रूपमा २०८२ चैतसम्म रहनेछ ।
सन् १९६१ मा उदयपुरमा जन्मिएका राउत सन् २०१६ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । सन् १९८३ देखि २०१६ सम्म अधिवक्ता तथा वरिष्ठ अधिवक्ताका रूपमा वकालत गरेका थिए । उनी देवानी, फौजदारी र संवैधानिक कानुनका विज्ञ मानिन्छन् । उनी सन् २०१६ सर्वोच्च अदालत बार एसोसियसनका अध्यक्षसमेत बनेका थिए ।