नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानाको विषय विपक्षी दलबाटै गिजोलिएकाले अब राफसाफ हुने बताउनु भएको छ । आज संसदको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि पत्रकारसँग कुरा गर्दै बर्तौलाले यस्तो बताउनु भएको हो ।
विभिन्न समयमा विदेश जान खोजेका तर नसकेका व्यक्तिलाई अमेरिकाको भिसा दिन उपसभामुख रानाले सिफारिस गरेको ब्यहोरा रहेको उहाँले बताउनु भयो ।
‘त्यो उहाँको कमजोरी हो। त्यति बेलै सत्ता घटक दलको बैठकमा यो विषय उठेको हो । तर त्यो दिन उपसभामुख संस्था भएकाले त्यो दिन हामीले धेरै बाहिर भनेनौँ,’ उहाँले भन्नुभयो, ‘अहिले एकाएक रास्वपाकै प्रमुख सचेतकबाट बाहिर ल्याउने र फायर खोल्ने काम भयो। त्यसका विषयमा जब उहाँले प्रसङ्ग निकालेर उहाँले उचाल्नुभयो र सरकारलाई हिलो छ्याप्नुभयो।
प्रधानमन्त्रीतर्फ इङ्गित गरेर खबरदार हामी आन्दोलन गर्छौं भनेर प्रतिवाद गर्नुभो। सिङ्गो प्रतिपक्षी माओवादी केन्द्रबाट पनि कुरा उठेपछि हाम्रो तर्फबाट पनि प्रतिवाद गर्ने काम भयो।’
त्यसो हो भने, अब उपसभामुखले ‘मार्ग प्रशस्त गर्नुपर्छ’ भनेर सत्तापक्षले भनेको प्रमुख सचेतक बर्तौलाले बताउनु भयो ।