कपिलवस्तुले पुनः शैक्षिक सर्बाेत्कृष्टताको ईतिहास रचेको छ।
जिल्लाको वाणगंगा ४ सिद्धिपुरमा अवस्थित सयपत्री क्याम्पसका विद्यार्थीले काठमाडौ उपत्यका बाहिर नेपाल प्रथम र समग्रमा नेपाल तेस्रो स्थान प्राप्त गर्दै सर्वोत्कृष्टताको ईतिहास रचेका हुन् ।
होराइजन अंग्रेजी आवासीय माविकै अभिन्न अंग सयपत्री क्याम्पसले छोटो समयमै आफ्नो उत्कृष्ट शैक्षिक गुणस्तरका कारण चर्चा पाइ रहेको छ।
सोही क्रममा वि.सं. २०८० सालको वि.वि.एस. दोस्रो वर्षको परीक्षाफलमा छात्र आशिष बेल्बासेले ८०.८ प्रतिशत अंक प्राप्त गरी नेपाल तृतीय भएका हुन् ।
नेपाल तृतीय भएसँगै सयपत्री क्याम्पसको थप चर्चा चुलिएको हो। यसैगरी, छात्रा एलिजा खत्रीले ७२.८ प्रतिशत र सृष्टि सुवेदीले ७६.६ प्रतिशत अंक ल्याउन सफल भएका छन् ।
बेल्बासे नेपाल तृतीय भएकोमा क्याम्पसले उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल तृतीय बेल्बासलेलाई सम्मानपत्र, ढोसल्ला र नगदले सम्मान गरिएको थियो भने उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सयपत्री क्याम्पसले कपिलवस्तुको शैक्षिक क्षेत्रमा आयाम थपेको बताए ।
उनले सयपत्रीको उत्कृष्ट नतिजाले अन्य शैक्षिक संस्थाहरूलाई पनि गुणस्तरीय शिक्षा प्रदान गर्नमा प्रेरणा थप्ने बताए ।
सम्मान कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख बासुदेव घिमिरे यस सफलताको श्रेय विद्यार्थीहरूको परिश्रम, प्राध्यापकहरूको समर्पण र अभिभावकहरूको सहयोगलाई दिए ।
घिमिरेले भने क्याम्पसको मुख्य लक्ष्य विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि गुणस्तरीय शिक्षा प्रदान गर्नु हो।
हामी विद्यार्थीहरूको व्यक्तिगत विकासमा ध्यान दिन्छौं र उनीहरूलाई आफ्नो क्षमता पूर्ण रूपमा विकसित गर्न प्रोत्साहित गर्छौं ।
नेपाल तृतीय भएका आशिष बेल्बासले क्याम्पसको गुणस्तरीय शिक्षा र प्राध्यापकहरूको प्रेरणाले आफू सफल भएको बताए ।
सयपत्री क्याम्पसले छोटो समयमै हासिल गरेको यो सफलताले यसलाई कपिलवस्तुको गुणस्तरीय शिक्षाको उदाउँदो केन्द्रका रूपमा स्थापित गरेको क्याम्पस संचालक समिति अध्यक्ष राजेन्द्र ध्वजूले बताए ।
ध्वजूले क्याम्पसले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञानसँगै व्यक्तित्व विकासका लागि आवश्यक सीपहरू प्रदान गर्दै आएको बताए ।
क्याम्पस व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मोहन अर्यालले गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुलाई सम्मानका साथै क्याम्पस प्रमुख वासुदेव घिमिरे, प्राध्यापकहरुलाई समेत नगद र ढोसल्लाले सम्मान गरिएको थियो । विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
२०७७ मा अस्मिता आचार्यले वि.वि.एस. प्रथम वर्षमा कपिलवस्तु जिल्लामा प्रथम स्थान हासिल गरेकी थिइन् भने २०७८ मा शालु घर्ती मगरले वि.वि.एस. दोस्रो वर्षमा जिल्ला प्रथम, २०७८ मै गोविन्द विश्वकर्माले बी।बी।एस प्रथम वर्षमा लुम्बिनी प्रदेशमै प्रथम स्थान हासिल गरेको र २०७९ मा प्रतिक्षा घिमिरे र आशिस बेल्बासेले क्रमशः दोस्रो र प्रथम वर्षमा कपिलवस्तु जिल्लामा प्रथम स्थान हासिल गरेका थिए भने २०८० मा सुस्मा न्यौपानेले वि.वि.एस. प्रथम वर्षमा बाणगंगा नगरपालिकामा प्रथम स्थान प्राप्त गरेको प्रबन्ध निर्देशक सुरेन्द्र घिमिरेले जानकारी दिए ।
२०७६ मा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त यस क्याम्पसले सञ्चालन गर्ने व्याचलर अफ बिजनेस स्टडीज (वि.वि.एस.) कार्यक्रमले विद्यार्थीहरूमाझ छोटो समयमा निकै लोकप्रियता बटुल्न सफल भएको छ।
•