मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित कांग्रेसका ५‚ एमालेका ४ र नाउपाका एकजना
सुदूरपश्चिम प्रदेशमा १० सदस्यीय सरकार गठन भएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले १० सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन्।
मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गरेका छन्। प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री, मन्त्रीहरूलाई र मुख्यमन्त्री शाहले राज्य मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
नेपाली कांग्रेसबाट २ जना मन्त्री र २ जना राज्यमन्त्री, नेकपा एमालेबाट ३ जना मन्त्री र एकजना राज्यमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीबाट एकजना मन्त्री नियुक्त भएका छन्।
नेपाली कांग्रेसबाट बहादुरसिंह थापा र मेघराज खड्का मन्त्री तथा प्रकाश बम र सरस्वती खड्काले राज्यमन्त्रीको शपथ लिएका छन्।
एमालेबाट सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा र हीरा सार्कीले मन्त्री तथा निर्मला साउदले राज्यमन्त्रीको शपथ लिए। यसका साथै नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मणकिशोर चौधरीले मन्त्रीको शपथ लिएका छन्।
सुरेन्द्रबहादुर पाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, बहादुरसिंह थापालाई आर्थिक मामिला मन्त्रालय, मेघराज खड्कालाई सामाजिक विकास मन्त्रालय, लक्ष्मणकिशोर चौधरीलाई उद्योग‚ पर्यटन‚ वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
हीरा सार्कीले आन्तरिक मामिला तथा कानून मन्त्रालय र वीरबहादुर थापाले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।
निर्मला साउदलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, प्रकाश बमलाई आर्थिक मामिला राज्यमन्त्री र सरस्वती खड्कालाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।