राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोकेको समयसीमा सकिएसँगै केपी शर्मा ओलीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले प्रधानमन्त्रीमा ओली नियुक्त भएको पुष्टि गरे।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी गरेका नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
राष्ट्रपतिको आह्वानअनुसार एमालेका अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका थिए। नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ भोलि सोमबारका लागि तय भएको छ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज असार ३० अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए।
नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७९ पुस १० गते नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।