पौडेल बालेन भेट


३१ जेष्ठ २०८१, बिहिबार  

56
Shares

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल बिहीवार काठमाडौँ महानगरका मेयर बालेन साहलाई भेट्न गएका छन्।

भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधबार प्रतिनिधिसभामा दर्ता गरेको संकल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौँ क्षेत्र नम्बर ५ को विषय, महानगरको आगामी आवका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको नेता पौडेलले जानकारी दिए।

भेटमा चक्रपथ निर्माण अलपत्र भएको अवस्थामा तत्काल तीनै तहका सरकार गम्भीर हुनुपर्ने र आवश्यक परे नेपाल सरकारले मात्र भए पनि यसको निर्माण समयमै गर्नुपर्ने विषयमा यी दुई नेताबीच छलफल भएको हो।

बुधबार प्रतिनिधिसभामा पौडेलले लगेको संकल्प प्रस्तावमा पनि चीन र नेपालबीच भएको सम्झौतानुसार काम नहुने हो भने नेपाल सरकार स्वयंले चक्रपथको कलंकी धोबीखोला खण्ड निर्माण गरिहाल्नुपर्ने प्रस्ताव गरिएको छ।

पौडेल र बालेनबीच काठमाडौँ महानगरको आगामी नीति तथा कार्यक्रम र प्राथमिकताबारे पनि छलफल भएको थियो। टुकुचा व्यवस्थापन, सामाखुसी खोला व्यवस्थापन, धनवन्तरी खहरे खोला व्यवस्थापन, काठमाडौँ क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा सडक व्यवस्थापनको कार्य प्राथमिकतामा राखेर अगाडि बढ्ने छलफल भएको पनि नेता पौडेलले जानकारी दिए।

त्यस्तै काठमाडौँ महानगर र क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने सार्वजनिक जग्गाको अतिक्रमण रोक्दै त्यसलाई संरक्षण गर्दै सार्वजनिक हितका लागि प्रयोगमा ल्याउने विषयमा पनि छलफल भएको छ।

‘हामीबीच समस्त काठमाडौँ महानगर तथा महानगरमा पर्ने क्षेत्र नम्बर ५ लाई थप सुविधासम्पन्न तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको हो’‚ पौडेलले भने।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ११ : २५ बजे