सत्ता पक्षले जनताको अपमान गरे


७ चैत्र २०८०, बुधबार  

0
Shares

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बदनाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको दावी गरेका छन्।

बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेले पार्टीमा गृहमन्त्री बन्नसक्ने कोही नभेटेको हो ? भन्दै प्रश्न गरे। उनले मुद्दा लागेका व्यक्तिलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री बनाएर सरकारले जनताको अपमान गरेको बताए।

उनले गृहमन्त्री रवि लामिछानेले आफ्ना जालसाजी लुकाउन गृहमन्त्री नै हुनुपर्ने माग राखेको पनि बताए। उनले दोषीलाई उम्काउने हो भने मुलुकको दुर्गति हुने बताए। उनले गृहमन्त्रीको गल्ती र कमजोरी रहेको कुरा हरेक नागरिकलाई जानकारी रहेको बताए। गृहमन्त्री लामिछानेले गृह मन्त्रालय नै रोज्नुको कारण सहकारी हिनामिनाको रकम राफसाफ गर्न रहेको आरोप लगाए।

केसीले भने, ‘यो मुलुकमा गृहमन्त्री हुने मान्छे कोही पनि रैनछन्, माओवादीका लागि। एमालेभित्र पनि कोही रैनछन्। यो त जनतामाथि अपमान हो नि। त्यस्तो मुद्दा लागेको मान्छे। दोषीलाई उम्काउने हो भने मुलुक के हुन्छ ? वर्तमान गृहमन्त्रीको गल्ती कमजोरी भएको छ। चौरासी तिकडम गरेर उहाँलाई गृहमन्त्री हुनैपर्ने। त्यो सहकारीबाट आफूले उडाएको रकमलाई राफसाफ पार्न हो। कसले बुझेको छैन। त्यस्ता गलत र भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन सकिन्छ ?’

उनले गलत र भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन नसकिने बताए।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ७ : ०२ बजे