ध्रुविकरणको दिशामा लैजानका लागि नयाँ समिकरण


२१ फाल्गुन २०८०, सोमबार  

0
Shares

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले नयाँ सत्तारुढ गठबन्धन बनाउने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले वर्तमान सत्तारुढ गठबन्धनको अन्त्य गर्दै नयाँ गठबन्धन बनाएर अगाडि बढ्ने निर्णय गरेको हो।

बैठकपछि (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले देशको वामपन्थी आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउँदै ध्रुविकरणको दिशामा लैजानका लागि नयाँ गठबन्धन गर्न लागिएको बताए।

उनले शान्ति प्रक्रियालाई टुंग्याउने र सरकारको बजेट, नीति तथा कार्यक्रममार्फत सरकारको कामलाई नयाँपन दिनका लागि नयाँ गठबन्धन बनाउनुपरेको बताए।

उनले भने ‘पदाधिकारी बैठकमा नयाँ गठबन्धन बनाएर अगाडि बढ्ने। कयौँ चुनौती त छन् तर त्यसको बाबजुद पनि नेपालको वामपन्थी आन्दोलनलाई फेरि नयाँ शिराबाट अगाडी बढाउनको निम्ति सरकारको प्रशंगलाई जोड्दै वामपन्थीहरुको ध्रविकरणको दिशामा लैजाने उद्देश्यसहित नयाँ समिकरण बनाउने निर्णय गर्‍यौँ हामीले। त्यसको औपचारिकता दिन त गठबन्धनको बैठक बसिराखेको छ।’

सचिव पौडेलले अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई अपेक्षा गरेअनुरुप सहयोग नगरेका कारण पनि गठबन्धन फेर्ने निर्णय गर्नुपरेको बताए।

त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रको उम्मेदवारलाई हराउनु, कांग्रेस महासमिति बैठकमा जनयुद्धलाई गलत ढंगले टिप्पणी गर्नु र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुले पनि कांग्रेस–माओवादी गठबन्धन टुट्न सहयोग पुगेको उनको भनाइ छ।

उनले भने, ‘कोशी प्रदेशमा भनेजस्तो भएन। उहाँहरुले त्यसलाई महशुस गर्नेतिर जानुभएन। सरकारलाई प्रभावकारी बनाउने कुरामा पनि अर्थमन्त्रालयले जसरी प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्‍यो  डेलिभरी दिने कुरामा अर्थमा गएर धेरैकुरा अल्झियो। त्यो पनि दोस्रो कारण बन्यो। तेस्रो कारण भनेको काँग्रेसको महासमितिको बैठकले जनयुद्धलाई गलत प्रकारले टिप्पणी गरिदियो। त्यसले राजनीतिक वैचारिक रुपमा हामीलाई अर्को पक्षसँग मिल्नका लागि प्रेरित गर्‍यो।’

उनले नयाँ सत्ता गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने नसमेट्ने स्पष्ट पारे। गठबन्धनमा राप्रपालाई ल्याउनु प्रतिगमनकारी हुने भएकाले राप्रपालाई गठबन्धनमा नसमेट्ने उनले जानकारी दिए।

उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी)लाई भने गठबन्धनमा ल्याउन प्रयास भइरहेको बताए।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १ : ४२ बजे