काठमाडौं : क्यानाडासँगको तीन ओडीआई सिरिज अन्तर्गतको जारी खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा उनले ४५ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन्। ओडिआइमा उनको ७औँ अर्धशतक हो। उनले एक शतक पनि प्रहार गरेका छन्। नेपाल अहिले १३औँ ओभरमा एक विकेट गुमाउँदै ७१ रन बनाएर खेलिरहेको छ। यो सिरिजका लागि मुख्य प्रशिक्षक मन्टी देसाईले युवा टोलीलाई अवसर दिएका छन्।
प्रधानमन्त्री कपमा प्लेयर अफ द सिरिज बनेका स्पिनर सूर्य तामाङ र रिजन ढकालले आजको खेलबाट ओडिआईमा डेब्यु गरेका छन्।
यो खेल नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यानडा बीचको पहिलो ओडिआई हो। यो खेललाई दुई पुराना साथी मोन्टी देसाई र पुवुदु दसानायके बीचको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ।
क्यानडा पहिलो पटक नेपाल आएको हो। हाल क्यानडाको मुख्य प्रशिक्षक रहेका पुवुदु, नेपाली क्रिकेटमा परिचित नाम हो। उनकै नेतृत्वमा नेपालले सन् २०१४ मा टि–ट्वान्टी विश्वकपमा डेब्यु गरेको थियो
यस्तै, मोन्टी क्यानडाको ब्याटिङ कन्सल्ट्यान्ड हुँदै २०१९ मा मुख्य प्रशिक्षक बनेका थिए। पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल एसोसिएट राष्ट्रमा बलियो छ।
क्यानडासँगको खेल लगत्तै नेपालले घरेलु मैदानमा नै नामिबिया र नेदरल्यान्डस सम्मिलत लिग टु सिरिज खेल्नेछ। क्यानडाले दुबईमा यूएई र स्कटल्यान्डसँग खेल्ने तालिका छ।




                    
                