नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद सञ्चालन गर्न नदिएका कारण चालु संसद अधिवेशन अन्त्य गर्नुपरेको बताएका छन्।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले संसद अधिवेशन अन्त्य र शुरु हुने क्रम जारी रहने बताए। प्रधानमन्त्री दाहाल र ओलीबीच आज समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो।
ओलीले भनेजस्तै शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते राति १२ बजेदेखि लागू हुनेगरी संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविनका लागि संसदीय छानविन समितिको माग गर्दै आएको छ। उक्त समिति नबनेसम्म संसद् बैठक चल्न नदिने अडानसमेत कांग्रेसले राख्दै आएको छ।