प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेलाई मिल्न चाहेको हो भने मिल्नबाट कसैले नरोक्ने बताएका छन्। बुधबार संसद्मा आफूले पेस गरेको विश्वासको प्रस्तावमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
नेपाली कांग्रेसले पटक–पटक एमालेसँग मिल्न सक्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्ड मिल्न चाहे कसैले नरोक्ने स्पष्ट पारेका हुन्। ‘राजनीतिक मुद्दा, देश र जनताको हित, ठूला दल मिल्दा हुन्छ भन्ने लाग्छ भने कसले रोक्न सक्छ र ’, सत्तारुढ दलकै सांसदहरूको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले भने, ‘यहाँ सत्तामै रहेका केही सदस्यहरूले प्रतिपक्षको निकै ताली खानुभयो। तपाईंहरूलाई सहज छैन भने भने भइहाल्यो नि।’
अघिल्लो गठबन्धनबाट आफू आजित भएको दोहोर्याउँदै प्रधानमन्त्री प्रचण्डले फेरि नयाँ गठबन्धनबाट पनि काम गर्न सहज नहुने पो हो कि भन्ने चिन्तामा आफू परेको बताए। ‘अघिल्लो गठबन्धनबाट आजित भएँ भनिसकेको छु’, उनले भने, ‘फेरि फेरि त्यस्तै भएर काम गर्ने वातावरण नबन्ला कि भनेर चिन्तित भएको छु।’
प्रधानमन्त्री प्रचण्डले ठूलो दल मिल्छौँ भनेर प्रधानमन्त्रीलाई धम्की दिँदा देशको हित नहुने बताए। उनले आफूले कसैलाई धोका नभई सबैको हित गरेको जिकिर गरे।