अध्यागमन सम्बन्धी कानून तत्काल परिमार्जन गर्न सरकारलाई संसदीय समितिको निर्देशन


२८ माघ २०८०, आइतबार  

0
Shares

 संसदीय समितिले अध्यागमनसम्बन्धी विद्यमान कानून तत्काल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ।

आइतवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनसम्बन्धी विद्यमान ऐन, नियम तत्काल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको हो। 

समयानुकूल हुनेगरी सोसम्बन्धी विधेयक तत्काल परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देश गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए। 

त्यसैगरी बैठकले मानव तस्करी नियन्त्रण र खुला सीमा सुरक्षा कडा जाँचको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ। भिसासम्बन्धी समस्या समाधान गर्न पनि सरकारलाई भनिएको समितिका सभापति खतिवडाले बताए। 

समितिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अपुग जनशक्ति तत्काल व्यवस्थापन गर्न र राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निर्देशन दिएको छ।

‘अध्यागमन सम्बन्धमा विद्यमान ऐन, नियममा समयानुकूल परिमार्जन गर्न‚ मानव तस्करी नियन्त्रण गर्न‚भिसा समस्या समाधान गर्न गृह मन्त्रालयलाई निर्देशन दिने‚’ सभापति खतिवडाले भने, ‘भिक्षुहरुलाई श्रम भिसा दिनुभन्दा आवश्यक ऐन परिमार्जन गर्न सरकारलाई निर्देशन दिने‚ सडकमा रहेका माग्ने व्यवस्थित गर्न गृहलाई‚ खुला सीमा सुरक्षा व्यवस्था कडा बनाउन गृह मन्त्रालयले समन्वय गर्ने। राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको छ।’

समितिले सडकमा रहेका भोकानांगा नागरिकको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। 

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : ५२ बजे