संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै


१५ श्रावण २०८२, बुधबार  

28
Shares


हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुँदैछ ।

निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार मतदाता नामावली प्रकाशन, नामावलीमा दाबी–विरोध, उम्मेदवारका लागि दरखास्त दर्ता, प्रारम्भिक नामावली र उम्मेदवारी फिर्ताको समय दिउँसो १२ बजेसम्म तोकिएको छ ।

उम्मेदवारको अन्तिम नामावली दिउँसो १ बजे प्रकाशन गरिनेछ भने मतदान दिउँसो २ देखि ३ बजेसम्म हुने तालिका रहेको छ ।

मतदान कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु गरी आजै नतिजा सर्वाजनिक गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेश कांग्रेसमा गत शुक्रबार प्रदेश सरकारका मुख्यमन्त्री समेत रहेको दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

उक्त प्रस्तावमा मंगलबार भएको मतविभाजनमा लामाको पक्षमा १५ र विपक्षमा २२ मत परेको थियो । अल्पमतमा परेपछि लामाले दलको नेता पद गुमाएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार  १० : १३ बजे