लोकतन्त्रको रक्षा गर्छु


४ श्रावण २०८२, शनिबार  

0
Shares


प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानवअधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूहरू लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताएका छन्।

प्रगतिशील कानुन व्यवसायीहरूको अन्तरराष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू लोकतन्त्रको स्थापनाका लागि लडेर आएको र अहिले सरकारको नेतृत्वमा रहेकाले कहिल्यै लोकतन्त्र र मानवअधिकारका मूल्य, मान्यता आयामलाई उल्लङ्घन नगर्ने  र यसको उचित संरक्षण गर्ने स्पष्ट गरे।

“हामी संयुक्त राष्ट्रसङ्घको वडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र र अन्तरराष्ट्रिय सम्बन्धका आयामका साथै नेपालको सन्तुलित परराष्ट्र नीतिमा आधारमा अघि बढिरहेका छौँ। हाम्रा कोही शत्रु छैनन्, हामी सबैसँग मित्रता राख्र्छौँ। हामी यो वा त्यो पक्षमा हुँदैनौँ तर हामी शान्ति र लोकतन्त्रका पक्षमा स्पष्ट छौँ।”, प्रधानमन्त्री ओलीले भने, “हामी जनताले दैनिक जीवनमा भोग्दै आएका समस्याहरूको समाधानार्थ लाग्नेछौँ। गरिबीको अन्त्यविना मानवअधिकार स्थापना हुन सक्दैन। त्यसका लागि सीमान्तकृत समुुदायको सामाजिक न्याय र समता अभिवृद्धिका लागि हामी कटिबद्ध रहनेछौँ।’’

उनले सम्मेलनबाट प्राप्त हुने उचित निष्कर्षहरूलाई सरकारले ग्रहण गर्ने विश्वास दिलाए।

प्रकाशित मिति : ४ श्रावण २०८२, शनिबार  १० : १३ बजे