काठमाडौं :
जसपा नेपालले संघ सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको तीन हप्ता बितिसकेको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिले औपचारिक निर्णय गर्ने जिम्मा संसदीय दललाई दिएको छ।
तर पटक–पटक बैठक बसे पनि संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। बुधबार बसेको दलको बैठकले पनि उक्त निर्णय नगरेको जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक रेखा यादवले जानकारी दिइन्।
सबै सांसदहरू अनुपस्थित रहेकाले बुधबारको बैठकले समर्थन फिर्ताको निर्णय नगरेको यादवले बताइन् । ‘आजको बैठकले समर्थन फिर्ताको निर्णय गरेन । किन भने सबै सांसदहरू पनि उपस्थित हुनुभएन’, उनले भनिन्, ‘अब २९ वा ३० गते अर्को बैठक बस्छ। त्यसले निर्णय गर्छ।’
प्रमुख सचेतक यादवले बुधबारको बैठक भूमि विधेयकमा केन्द्रित रहेको बताइन्। उनले भनिन्, ‘आजको बैठक खासगरी भूमि अध्यादेशमा केन्द्रित भयो । आजै कार्यसूचीमा चढेर पनि यो फिर्ता भएको छ, जहाँ हाम्रो आपत्ति छ।’
जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन भने फिर्ता लिइसकेको छ। संघ सरकार पनि असफल भएको निष्कर्ष निकाल्दै समर्थन फिर्ता लिने भने पनि औपचारिक निर्णय गरेको छैन।