सत्तारूढ कांग्रेस र एमालेले दुई तिहाइ सांसदको मत सुनिश्चित गरेर मात्र उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया अघि बढाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार नै उपसभामुखविरुद्ध ‘पदीय अनुकूलको आचरण नभएको’ प्रस्ताव दर्ता गर्ने तयारी अघि बढाउनु भएको थियो। तर दुई तिहाइ अनिश्चित र कांग्रेसमा आन्तरिक मतभेद देखिएपछि तत्कालका लागि प्रक्रिया रोकिएको हो ।
सत्तारूढ गठबन्धनमा कांग्रेस ८८, एमाले ७७ जसपा ७, लोसपा र नागरिक उन्मुक्ति ४र४ र स्वतन्त्र १ गरी १८१ मत पुग्छ । दुई तिहाइका लागि आवश्यक १८३ मतमध्ये २ मत अपुग हुने भएकाले ओली र देउवा मधेश प्रदेश सरकारमा सहकार्य गरेको जनमत र सरकारलाई समर्थन जनाएको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई फकाउने कसरतमा छन् ।
जनमतका अध्यक्ष सीके राउतसँगको फोन संवाद र सत्तारूढ दलबीच सोमबार भएको बैठकमा सहभागी मुख्य सचेतक अब्दुल खानको सकारात्मक कुराकानीबाट प्रधानमन्त्री ओली र देउवा बुधबार नै प्रस्ताव दर्ताको तयारीमा लाग्नु भएको थियो ।
तर पदाधिकारी बैठकमा नेता शेखर कोइराला पक्षले फरक धारणा राखेपछि कांग्रेस सभापति देउवा निर्णयमा पुग्न सकेनन् । उपसभामुख रानालाई राजीनामाका लागि आग्रह गर्ने र उनलाई हटाउने विषयमा पार्टीका सबै सांसदको हस्ताक्षर जुटाउन संसदीय दलको बैठक राख्ने निर्णय गरेर पदाधिकारी बैठक टुंगियो । ‘