समाजवादीलाई ठूलो झट्का


२१ श्रावण २०८१, सोमबार  

42
Shares

रौतहटमा नेकपा एकीकृत समाजवादी पार्टीलाई ठूलो झट्का लागेको छ। मधेश प्रदेशका पूर्व वन राज्यमन्त्री नागेन्द्र यादवसहित २० जना नेकपा एकीकृत समाजवादी पार्टी त्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। यसले गर्दा रौतहटमा एकीकृत समाजवादी पार्टी कमजोर बनेको आँकलन गरिएको छ।

आइतबार एकीकृत समाजवादी पार्टी परित्याग गरेका यादवसहित रौतहटका २० जना  नेकपा एमालेमा प्रवेश गरेका हुन्। नेकपा एमाले केन्द्रीय पार्टी कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाइ स्वागत गरेका हुन्। पार्टी अध्यक्ष ओलीले नयाँ सदस्यहरूलाई स्वागत गर्दै पार्टीको लक्ष्य र उद्देश्यप्रति प्रतिबद्धता जनाएका छन्।

नागेन्द्र यादव २०७४ सालमा प्रदेश सभा निर्वाचनमा रौतहट क्षेत्र नं. ३ को (क) बाट नेकपा एमालेको चुनाव चिन्हबाट निर्वाचित बनेका थिए। उनले मधेस प्रदेशको वन राज्यमन्त्रीको पदसमेत पाएका थिए। पार्टी विभाजनपछि उनले माधव नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादी पार्टीमा सहभागिता जनाएका थिए। तर, हालै यादवले एकीकृत समाजवादी पार्टी परित्याग गर्दै पुनः एमालेमा फर्किएका छन्।

जस्ले गर्दा रौतहट जिल्लामा एकीकृत समाजवादी पार्टीलाई ठूलो धक्का लागेको छ। यादव र उनका समर्थकहरूको एमालेमा प्रवेशले एमालेको शक्ति बढेको छ भने, एकीकृत समाजवादी पार्टी कमजोर भएको छ। यसले आगामी निर्वाचनमा दलहरूको शक्ति सन्तुलनमा प्रभाव पार्न सक्ने सम्भावनासमेत बढाएको छ।

रौतहटमा हुने राजनीतिक परिवर्तनले मधेस प्रदेशको राजनीतिक माहोलमा पनि प्रभाव पार्न सक्ने सम्भावनासमेत बढेको हो। यादवको कदमले अन्य नेताहरूलाई पनि पार्टी परिवर्तन गर्न प्रेरित गरेको नेकपा एमाले रौतहटका नेता तथा पूर्वसचिव अनमोल कार्कीको भनाइ छ। नागेन्द्र यादवको राजनीतिक यात्राले नेपाली राजनीतिमा विभिन्न मोडहरूको प्रतिनिधित्व गरेको छ। यादवको एमालेमा फर्किनुले पार्टीभित्रको एकता र समर्पणलाई अझ मजबुत बनाएको कार्कीले बताए।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १२ : २५ बजे