प्रदेशलाई लक्ष्य बनाएर लोकतान्त्रिक गणतन्त्र माथि भयो प्रहार


२५ जेष्ठ २०८१, शुक्रबार  

0
Shares

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशलाई लक्ष्य बनाएर लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको बताएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्र वा संविधान सभाबाट निर्मित संविधानलाई कमजोर पार्न चाहने प्रवृत्तिहरु प्रदेशलाई तारो बनाएर, प्रदेश चाहिँदैन भन्ने भ्रम जनातामा छरेर संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरिरहेको बताए।

उनले सबैको प्रयास सकेसम्म प्रदेश, स्थानीय तहलाई बलियो बनाएर सबै ठिक छ भन्ने प्रमाणित गर्नुपर्नेमा रहनुपर्ने बताए। उनले अहिलेको राजनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बलियो बनाउने, विद्यमान संविधानलाई अझै परिमार्जन, परिष्कृत, गर्दै अघि जाने पक्षमा एउटा र अर्को प्रवृत्ति संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र पछाडितिर लैजानेमा उद्धत रहेको बताए।

उनले भने, ‘अहिलेको राजनीतिक सन्दर्भमा दुई वटा प्रवृत्तिहरु एउटा त संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गरेर लैजाने, विद्यमान संविधानलाई अझै परिमार्जन, परिष्कृत, गर्दै अघि जाने भन्ने एउटा ट्रेन छ। राजनीतिक प्रवृत्ति छ। अर्को ट्रेन यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र पछाडितिर लैजाने, इतिहासलाई, राजनीतिक घटनाक्रमलाई पछाडितिर धकेल्ने अर्को ट्रेन छ। यो दुई वटा प्रवृत्तिको बीचमा कहिले खुला खालले बहस हुन्छ र कहिले विभिन्न रुपमा चलिरहेको छ। त्यसमध्येको जसले यो संघीय लोकतान्त्रिक गणतन्त्र वा संविधान सभाबाट निर्मित संविधानलाई कमजोर पार्न चाहन्छ, उनीहरुको आक्रमणको तारो प्रदेश भएको छ।

तारो, कहाँबाट शुरु गर्ने भन्दा प्रदेशलाई डिफेम गरेर प्रदेशलाई कमजोर पारेर, प्रदेशको आवश्यकता छैन, बेकार खर्च मात्रै भन्नेखालको जनताका कन्फ्युजन क्रिएट गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको छ। हाम्रो कोशिस सकेसम्म प्रदेशलाई बलियो बनाएर स्थानीय तहलाई बलियो बनाएर र यो सिस्टम, यो कन्स्ट्रिच्युसन र यो सबै प्रक्रिया ठिक छ भनेर पुष्टि गर्ने हाम्रो जोड छ। यी दुई धारमा पेचिलो नै संघर्ष चलिरहेको छ।’

प्रधानमन्त्री दाहालले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्‍याउन आफूले पहल गरिरहेको पनि बताए।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  १२ : ५१ बजे