मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका प्रदेश सांसद सतिश सिंह नियुक्त भएका छन्। ६ दलका ५५ सांसदको समर्थनसहितको दाबी पेस गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
नवनियुक्त मुख्यमन्त्री सिंहले आज मध्यान्ह १२ बजे शपथ लिन तयारी छ। मधेश भवनस्थित कभर्ड हलमा नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको शपथग्रहण समारोह राखिएको छ।
राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुङ्ग्याएपछि उनले आज बिहानै दाबी पेस गरेका थिए।
भागबण्डाअनुसार एमालेले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन, नेकपा एसले कृषि, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाउने भएको छ।
यस्तै १–१ सिटको नेपाल संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए। नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी तरन्नुम गृह मन्त्री बन्ने पक्का भएको छ।
जनमतले मुख्यमन्त्रीसहित वन तथा वातावरण र एक विना विभागीय मन्त्री पाउने भएको छ। मधेशमा ११ वटा मन्त्रालय रहेका छन्। १०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सांसदले सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेर दाबी गरेका हुन्