श्री महेन्द्र माध्यमिक विद्यालयमा ४ जि पि ए प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न


२ असार २०८३, मंगलबार  

0
Shares

श्री महेन्द्र माध्यमिक विद्यालयमा ४ जि पि ए प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न

प्रेमराज पोखरेल कोपवा, कपिलवस्तु ।
श्री महेन्द्र माध्यमिक विद्यालय, बाणगंगा–५, कोपवाले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूको सम्मान तथा शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

विद्यालयले प्राविधिक धारतर्फ ऐतिहासिक सफलता हासिल गर्दै अनुकूल पोखरेल, भुवन आचार्य, ऋषिराम भुसाल र प्रकाश आचार्य गरी चार जना विद्यार्थीले ४.०० जीपीए प्राप्त गरेका छन्। साथै विद्यालयले शतप्रतिशत (१००%) नतिजा हासिल गर्दै सामुदायिक विद्यालयको क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ।

कार्यक्रमको अध्यक्षता दधिराम आचार्य ले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि चक्रपाणि अर्याल तथा विशिष्ट अतिथि दुनिका भुसाल रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चक्रपाणि अर्याल ले विद्यालयको यो सफलता सम्पूर्ण बाणगंगा नगरपालिकाकै गौरवको विषय भएको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षाको विकासका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

विशिष्ट अतिथि दुनिका भुसाल ले बाणगंगा नगरपालिकामा शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकास तीव्र गतिमा भइरहेको बताउँदै आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि तथा पूर्वाधार विकासमा थप जोड दिइने बताउनुभयो। उहाँले शिक्षामा गरिएको लगानीले समृद्ध समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

विद्यालयका उपप्रधानाध्यापक टिका बहादुर मल्ल ले आफ्नो प्रेरणादायी मन्तव्यमा विद्यार्थीहरूलाई अनुशासन, निरन्तर अध्ययन र सकारात्मक सोचका साथ जीवनका हरेक क्षेत्रमा सफलता हासिल गर्न प्रेरित गर्नुभयो।

यस अवसरमा भौतिकशास्त्र शिक्षक प्रेमराज पोखरेल ले आफ्नो मन्तव्यमा भन्नुभयो, “सफलता कुनै संयोग होइन, यो निरन्तर परिश्रम, अनुशासन र दृढ संकल्पको परिणाम हो। आजको उपलब्धिले हाम्रा विद्यार्थीहरूको क्षमता प्रमाणित गरेको छ। आगामी दिनमा अझ उच्च लक्ष्य निर्धारण गरी निरन्तर मेहनत गर्न आवश्यक छ।”

विद्यार्थीहरूको तर्फबाट ४.०० जीपीए प्राप्तकर्ता अनुकूल पोखरेल ले मन्तव्य व्यक्त गर्दै विद्यालयका शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “विद्यार्थीको सफलतामा शिक्षकको समर्पित मार्गदर्शन, अभिभावकको निरन्तर सहयोग र विद्यालयले प्रदान गरेको सकारात्मक तथा शैक्षिक वातावरणको महत्वपूर्ण भूमिका हुन्छ। आजको उपलब्धि हाम्रो व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण विद्यालय परिवारको सामूहिक प्रयासको परिणाम हो।”

आफ्नो प्रेरणादायी भनाइ प्रस्तुत गर्दै उहाँले थप भन्नुभयो, “यदि मानिसमा कुनै लक्ष्य हासिल गर्ने अठोट, समर्पण र दृढ सङ्कल्प छ भने संसारको कुनै पनि शक्तिले उसलाई आफ्नो लक्ष्य प्राप्त गर्नबाट रोक्न सक्दैन।” उहाँको यस भनाइले कार्यक्रममा उपस्थित विद्यार्थीहरूलाई मेहनत, लगनशीलता र आत्मविश्वासका साथ आफ्नो लक्ष्यतर्फ अघि बढ्न प्रेरित गरेको थियो।

विद्यालयकी प्रधानाध्यापिका तनुश्री पुरी भण्डारी ले विद्यालयको सफलता शिक्षक, विद्यार्थी, अभिभावक तथा समुदायको सामूहिक प्रयासको प्रतिफल भएको बताउँदै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन शिक्षक बसुदेव अर्याल ले गर्नुभएको थियो।

कार्यक्रममा ४.०० जीपीए प्राप्त गर्ने अनुकूल पोखरेल, भुवन आचार्य, ऋषिराम भुसाल र प्रकाश आचार्य लाई सम्मानपत्र, खादा तथा जनही रु. ५,००० नगद पुरस्कार प्रदान गरी विशेष सम्मान गरिएको थियो। साथै विद्यालयको उत्कृष्ट नतिजा हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने शिक्षकहरूलाई समेत सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो।

कार्यक्रमका अध्यक्ष दधिराम आचार्य ले विद्यालयले हासिल गरेको यो ऐतिहासिक उपलब्धि सम्पूर्ण विद्यालय परिवारको सामूहिक प्रयासको परिणाम भएको बताउँदै आगामी दिनमा पनि विद्यालयलाई उत्कृष्टताको नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा उपस्थित अतिथि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले श्री महेन्द्र माध्यमिक विद्यालयले प्राविधिक शिक्षातर्फ हासिल गरेको यो ऐतिहासिक सफलता सामुदायिक विद्यालयका लागि प्रेरणादायी उदाहरण बनेको उल्लेख गर्दै विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए। चार जना विद्यार्थीले ४.०० जीपीए प्राप्त गर्नु, शतप्रतिशत नतिजा हासिल गर्नु तथा विद्यार्थी र शिक्षक दुवैलाई सम्मान गरिनु विद्यालयको गुणस्तरीय शैक्षिक वातावरण, समर्पित शिक्षक समूह र मेहनती विद्यार्थीहरूको सफलताको उत्कृष्ट उदाहरणका रूपमा रहेको वक्ताहरूले बताएका थिए।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ७ : २५ बजे