विश्वकपमा भेट्यो सान्त्वना जित


६ फाल्गुन २०८२, बुधबार  

14
Shares



रेडियो  


काठमाडौं– नेपालले तेस्रो पटक आईसीसी पुरुष टी–२० विश्वकप खेल्दा सुपर–८ प्रवेश भने गर्न सकेन, तर प्रतियोगितामा केही उत्साहजनक क्षण पनि देखियो। सुरुवाती तीन खेलमा लगातार पराजय भोगेको नेपाली टोली अन्तिम खेलमा स्कटल्यान्ड ७ विकेटले हराउँदै १२ वर्षपछि विश्वकपमा जित दर्ता गर्‍यो।

पहिला तीन खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन देखायो । सुपर–८ को सपना राखेका नेपाली खेलाडी लगातार दबाबमा थिए। इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजविरुद्ध टोली अपेक्षाअनुसार खेल्न सकेन, जसले प्रतियोगिताको शुरुवात कठिन बनायो।

तर चौथो खेलमा नेपालले सुधारिएको खेल प्रदर्शन गर्‍यो। बलिङतर्फ सोमपाल कामीले ३ विकेट लिएर टोलीलाई बलियो स्थिति दिलाए। ब्याटिङमा उपकप्तान दीपेन्द्रसिंह ऐरीले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरे भने कुशल भुर्तेल, आसिफ शेख र गुल्शन झा ले पनि योगदान गरे।

व्यक्तिगत उपलब्धिमा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र शेर मल्ल  चम्किएका छन् । १५ सदस्यीय टोलीमध्ये १४ खेलाडीले मैदानमा अवसर पाएका थिए । नेपाली टोलीमा आरिफ शेख, शेर मल्ल, ललित राजवंशी, लोकेश बम र नन्दन यादवले टी–२० विश्वकपमा डेब्यू गरेका थिए ।

सुपर–८को लक्ष्य पूरा नभए पनि नेपालले अन्तिम खेलको जितले केही राहत महसूस गराएको छ । युवा र अनुभवी खेलाडीहरूको मिश्रणले भविष्यका प्रतियोगिताका लागि उत्साह र आशा जगाएको छ। यस विश्वकपले व्यक्तिगत प्रतिभा भए तापनि  टोलीको सन्तुलन अझ सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ ।

दीपेन्द्रसिंह ऐरी

नेपाली क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले यस पटकको आईसीसी पुरुष टी-२० विश्वकपलाई आफ्नै प्रदर्शनका कारण विशेष बनाएको छ । नेपाली टोली समग्र रूपमा संघर्षरत देखिए पनि दीपेन्द्र भने जिम्मेवारीसाथ उभिए ।

नम्बर ४ मा प्रमोट भएर ब्याटिङ गरेका दीपेन्द्रले वेस्ट इन्डिजविरुद्ध ५८ रन प्रहार गर्दै टी–२० विश्वकपमा १२ वर्षपछि नेपालका लागि अर्धशतक बनाए । यससँगै उनी विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बने । 

यसअघि सन् २०१४ को आईसीसी मेन्स टी २० वल्र्डकपमा सुबास खकुरेलले ५६ रन बनाएका थिए । दीपेन्द्रको ५८ रन भने विश्वकपमा नेपाली खेलाडीको अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोर पनि बन्यो।

उनी टी–२० विश्वकपमा टेष्ट राष्ट्रविरुद्ध अर्धशतक बनाउने पहिलो नेपाली ब्याटर र सुरुवाती तीन खेलमै ११९ रन जोड्दै यस संस्करणमा १०० रन पार गर्ने पहिलो नेपाली खेलाडी बने। स्कटल्यान्डविरुद्ध अन्तिम खेलमा उनले अविजित ५० रन बनाएपछि नेपालले १२ वर्षपछि विश्वकपमा जित दर्ता गर्‍यो । लगातार अर्धशतक बनाउँदै उनी टी–२० विश्वकपमा ब्याक–टु–ब्याक फिफ्टी प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

उनले  चार खेलमा १६९ रन इंग्ल्यान्ड ४४, इटली १७, वेस्ट इन्डिज ५८ र स्कटल्यान्डविरुद्ध अविजित ५० रनसहित नेपालको सर्वाधिक रन बनाउने खेलाडी बने। बलिङतर्फ पनि उनले २ विकेट लिएर अलराउण्डरको भूमिका निभाएका थिए । 

नेपालका अन्य ब्याटरहरू अपेक्षाअनुसार चल्न नसक्दा दीपेन्द्र एक्लै जुधिरहेका जस्तो देखिए। तर, उनको आत्मविश्वास, संयमता र जिम्मेवारीपूर्ण खेलले यस विश्वकपमा नेपालको सकारात्मक कथा लेखिदिएको छ ।

कुशल भुर्तेल

आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालको ब्याटिङ कमजोर देखिनुको मुख्य कारणमध्ये एक ओपनिङ जोडीको अस्थिर प्रदर्शन रहेको देखियो । टी–२० जस्तो छोटो फर्म्याटमा सुरुवात बलियो हुनुपर्छ, तर नेपालले पहिलो तीन खेलमा त्यो लय समात्न सकेन।

सुरुवाती तीन खेलमा ओपनरहरूबाट अपेक्षित योगदान नआउँदा मध्यक्रममाथि दबाब बढ्यो, जसको असर नतिजामा पनि देखियो। अत्यधिक अपेक्षा गरिएका कुशल भुर्तेलले पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध आक्रामक सुरुवात गर्दै २९ रन जोडे पनि त्यसपछि लय सम्हाल्न सकेनन्। 

दोस्रो र तेस्रो खेलमा उनी क्रमशः ५ र १ रनमा आउट हुँदा नेपालको शीर्षक्रम कमजोर बन्यो।

तर, समूह चरणबाट बाहिरिसकेपछि भने अन्तिम खेलमा ओपनिङमा सकारात्मक संकेत देखियो। चौथो खेलमा कुशलले आफ्नो स्वाभाविक आक्रामक शैलीमा फर्किँदै ४३ रन बनाए। ३५ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै उनले आत्मविश्वास पुनःस्थापित गर्ने प्रयास गरे।

चार खेलमा कुल ७८ रन बनाएका भुर्तेलको प्रदर्शन मिश्रित रह्यो– कहिले आशा जगाउने, कहिले निराश पार्ने। समग्रमा, ओपनरहरूको अस्थिरता नै नेपालको सुरुवाती तीन हारको प्रमुख कारण बन्यो, यद्यपि अन्तिम खेलले भविष्यका लागि केही सकारात्मक संकेत भने दिएको छ।

आसिफ शेख

नेपाली टोलीका अर्को ओपनर आसिफ शेख को यसपटकको आईसीसी पुरुष टी(२० विश्वकप यात्रा अपेक्षाअनुसार प्रभावशाली रहन सकेन। टोलीलाई मजबुत सुरुवात दिलाउने जिम्मेवारी बोकेका आसिफ सुरुवाती तीन खेलमै लय समात्न संघर्षरत देखिए ।

पहिलो खेलमा उनी केवल ७ रनमै समेटिए। दोस्रो खेलमा २० रन जोड्दै केही लय समात्ने संकेत दिए पनि निरन्तरता दिन सकेनन्। तेस्रो खेलमा फेरि ११ रनमै आउट भएका थिए ।

स्कटल्याण्डविरुद्ध चौथो खेलमा भने आसिफले कुशल भुर्तेलसँग मिलेर सकारात्मक सुरुवात दिलाए। उनले ३३ रन बनाउँदै राम्रो आधार तयार पारे पनि त्यसलाई ठूलो स्कोरमा रूपान्तरण गर्न सकेनन्। चार खेलमा उनले कुल ७१ रन मात्र जोडे। 

आसिफ विकेटकिपरको भूमिकामा पनि  खासै चम्किन सकेनन्। इंग्ल्याण्ड र स्कटल्यान्डविरुद्ध १–१ क्याच बाहेक उल्लेखनीय प्रभाव देखिएन।

ओपनरको रूपमा टिमलाई बलियो सुरुवात आवश्यक पर्ने अवस्थामा आसिफको प्रदर्शन मध्यम रह्यो। केही झल्को देखिए पनि निरन्तरता र ठूलो स्कोरको अभावले उनको विश्वकप यात्रा अपेक्षाअनुसार हुन सकेन।

गुल्सन झा

नेपाली टोलीका उदीयमान अलराउण्डर गुल्शन झाबाट यसपटकको आईसीसी पुरुष टी–२० विश्वकप मा धेरै आशा गरिएको थियो। टोलीका एक मात्र बायाँहाते ब्याटर र मध्यम गतिका बलरका रूपमा उनले सन्तुलन ल्याउने अपेक्षा थियो। तर विश्वकप यात्रा भने मिश्रितभन्दा पनि निराशाजनक बन्यो।

सुरुवाती तीन खेलमा सातौँ नम्बरमा ब्याटिङ गर्दै आएका गुल्शनले क्रमशः ३, १ र ११ रन मात्र जोडे। मध्यक्रममा स्थिरता दिनुपर्ने भूमिकामा उनी टिक्न सकेनन्। चौथो खेलमा स्कटल्यान्डविरुद्ध भने उनलाई पाँचौँ नम्बरमा प्रमोट गरियो। त्यस खेलमा उनले उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग संयमित साझेदारी गर्दै अविजित २४ रन बनाए—यो नै उनको प्रतियोगिताकै उत्कृष्ट इनिङ्स रह्यो।

गति र उचाइ भएका अलराउण्डर हुँदाहुँदै पनि गुल्शनले विश्वकपभर एकपटक पनि बलिङ गर्ने मौका पाएनन्। समर्थकहरू उनको स्विङ र बाउन्स हेर्न उत्सुक थिए, तर त्यो अवसर नदिइँदा उनको अर्को पक्ष अधुरै रह्यो।

विश्लेषकहरूका अनुसार गुल्शनलाई स्पष्ट भूमिका निर्धारण गरिन सकेन। कहिले तल्लो क्रममा सीमित अवसर, कहिले प्रमोशन—तर निरन्तरता र विश्वासको अभावले उनको आत्मविश्वासमा असर पारेको देखिन्छ। स्वयं खेलाडी पनि आफ्नो प्रदर्शनबाट सन्तुष्ट नदेखिएको संकेत मिल्यो।

प्रतिभा र सम्भावना हुँदाहुँदै पनि यस विश्वकपमा गुल्शन झा चम्किन सकेनन्। सही भूमिका, निरन्तर अवसर र स्पष्ट रणनीतिसँग उनी भविष्यमा अझ प्रभावशाली रूपमा फर्किन सक्ने खेलाडी हुन्।

नन्दन यादव

नेपाली टोलीका मिडियम पेसर नन्दन यादवले पहिलो पटक आईसीसी पुरुष टी–२० विश्वकप खेल्दै चारै खेलमा पहिलो रोजाइ पाएका थिए। डेब्यू विश्वकपमै उनले बलिङतर्फ आशा जगाउने प्रदर्शन गरे।

पहिलो खेलमा इंग्ल्यान्डविरद्ध ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिँदै उनले आफ्नो क्षमता देखाए। विशेषगरी जोस बटलर र कप्तान ह्यारी ब्रुकजस्ता विश्वस्तरीय ब्याटरलाई आउट गर्नु उनको लागि ठूलो उपलब्धि बन्यो। यद्यपि उनले चार ओभरको कोटा भने पूरा गर्न पाएनन्।

दोस्रो खेलमा इटलीविरुद्ध भने उनलाई मात्र १ ओभर बलिङ दिइयो, जसमा १२ रन खर्चिए र विकेट लिन सकेनन्। ब्याटिङतर्फ पनि उनी खाता नखोली आउट भए।

तेस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध ३ ओभरमा २४ रन खर्चेर १ विकेट लिए। उक्त खेलमा नेपाल ९ विकेटले पराजित हुँदा नन्दन नै विकेट लिने एक्लो नेपाली बलर बने।

स्कटल्यान्डसँगको खेलमा उनले पूरा ४ ओभर बलिङ गर्दै ३४ रन खर्चेर २ विकेट लिए। महत्वपूर्ण क्षणमा विकेट निकाल्दै उनले टोलीलाई प्रतिस्पर्धी बनाइराख्न योगदान दिए।

चार खेलमा ५ विकेटसहित नन्दन यादवले डेब्यू विश्वकपलाई आशाजनक बनाए। निरन्तर अवसर र अनुभव पाएमा उनी नेपाली टोलीका भरपर्दा पेसरका रूपमा स्थापित हुन सक्ने संकेत देखाएका छन्।

सोमपाल कामी

नेपाली क्रिकेट टोलीका सबैभन्दा अनुभवी खेलाडी सोमपाल कामीले तेस्रो पटक आईसीसी पुरुष टी(२० विश्वकप खेल्दै ऐतिहासिक कीर्तिमान कायम गरे। नेपालका लागि तीनवटै टी–२० विश्वकप खेल्ने एक्लो  खेलाडी बन्नु आफैंमा ठूलो उपलब्धि हो। तर यसपटकको उनको यात्रा भने उतार–चढावपूर्ण रह्यो।

पहिलो दुई खेलमा मौका नपाएका सोमपालले वेस्ट इन्डिजविरुद्ध तेस्रो खेलमा पहिलो रोजाइमा स्थान पाए। उक्त खेलमा उनले ब्याटिङतर्फ अविजित २६ रन बनाउँदै संघर्षपूर्ण इनिङ्स खेले। यद्यपि बलिङमा भने विकेट लिन सकेनन्।

अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध सोमपालले आफ्नो अनुभव र धारिलो बलिङको नमुना प्रस्तुत गरे। ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिँदा उनले डेथ ओभरमा खेलको दिशा नै मोडिदिए। पहिलो स्पेलमा केही महँगो देखिए पनि दोस्रो स्पेलमा २ ओभरमा मात्र ८ रन दिएर ३ महत्वपूर्ण विकेट झार्नु उनको उत्कृष्ट कमब्याक थियो।

तीन विश्वकप खेलेको अनुभवले उनलाई टोलीको मार्गदर्शक बनाएको छ। सुरुवातमा अवसर नपाए पनि अन्तिम दुई खेलमा आफूलाई प्रमाणित गर्दै उनले अझै पनि टोलीका लागि कति महत्वपूर्ण छन् भन्ने देखाइदिए। समग्रमा, सोमपालका लागि यो विश्वकप कीर्तिमान र कमब्याक दुवैको कथा बन्यो।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ३ : ५० बजे