‘यौन सम्बन्धी’ फुटेजका लागि दक्षिण कोरियामा १ लाख २० हजारभन्दा धेरै घरेलु क्यामेरा ह्याक भएको छ । घर र व्यवसायमा रहेका भिडियो क्यामेराहरू ह्याक गरेको र ती फुटेजहरू प्रयोग गरेर विदेशी वेबसाइटका लागि यौनसम्बन्धी सामग्री बनाएको आरोपमा चार जना पक्राउ परेका बीबीसीले जनाएको छ ।
आरोपीहरूले इन्टरनेट प्रोटोकल अर्थात् आईपी क्यामेराको कमजोरी– पासवर्डहरूको दुरुपयोग गरेका प्रहरीले बताएको छ । सीसीटीभीको सस्तो विकल्पका रूपमा रहेको आईपी क्यामेराहरूलाई घर क्यामेरा पनि भनिन्छ ।
यी क्यामेरा घरको इन्टरनेट नेटवर्कमा जडान हुन्छन् र प्रायः सुरक्षाका लागि वा बच्चाहरू र घरपालुवा जनावरहरूको सुरक्षा निगरानी गर्न जडान गरिन्छ । निजी घर, नाइट क्लबमा उपलब्ध हुने निजी कोठा, पिलेट्स स्टुडियो र स्त्रीरोग विशेषज्ञको क्लिनिकहरुका क्यामेरा ह्याक गरिएका पाइएको छ ।
पक्राउ परेका चारै जनाले व्यक्तिगत रूपमा काम गरेका पाइएको दक्षिण कोरियाको राष्ट्रिय प्रहरी एजेन्सीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । पक्राउ परेका १ जनामाथि ६३ हजार क्यामेरा ह्याक गरेको र ५ सय ४५ यौनसम्बन्धी भिडियोहरू उत्पादन गरेको आरोप छ । उनले ती भिडियो १२ हजार २ सय ३५ अमेरिकी डलरमा बेचेको खुलेको छ ।
यस्तै अर्का व्यक्तिले ७० हजार क्यामेरा ह्याक गरेर ६ सय ४८ वटा भिडियो १२ हजार २ सय ५७ डलरमा बेचेको आरोप छ




