साइकल चढेर वातावरणीय तथा स्वास्थ्य सचेतना जगाइरहेको बाणगंगा राइडर्स क्लबको अध्यक्षमा पुनः विष्णु प्रसाद सापकोटा चयन भएका छन्। वडा नम्बर २, नन्दनगरमा आयोजित प्रथम साधारण सभा तथा अधिवेशनले आगामी दुई वर्षको लागि सापकोटाको नेतृत्वलाई निरन्तरता दिएको हो।
क्लबको नयाँ कार्यसमितिमा ३ जना नयाँ सदस्यबाहेक पुरानै सदस्य सर्वसम्मत भएका छन्। उपाध्यक्षमा विष्णु गैरे, सचिवमा रामचन्द्र बेलबासे, सहसचिवमा तुल्सीराम भुषाल, र कोषाध्यक्षमा तिलक पौडेल सर्वसम्मत भए। नयाँ सदस्यहरूमा रोहन पौडेल, हरि पौडेल, र हरि घिमिरे सर्वसम्मत चयन भए भने डांसुराम न्यौपाने, युवराज कंडेल, र नरेन्द्र खांण सदस्यमा पुनः चयन भएका छन्।
उनीहरूलाई निर्वाचन अधिकृत रामबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ गराउँदै सफल कार्यकालको शुभकामना दिए। यसअघि खुला सत्रमा क्लबको वार्षिक, सचिवीय, र आर्थिक प्रतिवेदनहरू सर्वसम्मतले पारित भएका थिए।
कार्यक्रममा क्लबलाई योगदान पुर्याएका सल्लाहकार विष्णु प्रसाद घिमिरे, उपाध्यक्ष विष्णु गैरे, र ज्येष्ठ सदस्य यम बहादुर थापालाई कदरपत्रले सम्मानित गरियो। प्रमुख अतिथि वडा नम्बर २ का अध्यक्ष विष्णु पौडेलले क्लबलाई बाणगंगा नगरको अनौठो र मौलिक क्लब भन्दै प्रशंसा गरे। उनले क्लबलाई नगर र वडासँग सहकार्य गरेर आगामी दिनमा थप महत्वपूर्ण कामहरू गर्ने प्रतिबद्धता पनि जनाए।
कार्यक्रममा लायन्स क्लब कपिलवस्तुका अध्यक्ष नवदत्त घिमिरे, पत्रकार चन्द्रकान्त न्यौपाने, राइडर्स सदस्यहरू हरि पौडेल र यम प्रसाद थापाले पनि मन्तव्य व्यक्त गरे।
कार्यक्रम क्लबका अध्यक्ष विष्णु सापकोटाको अध्यक्षता, सचिव रामचन्द्र बेलबासेको सञ्चालन, र उपाध्यक्ष विष्णु गैरेको स्वागत मन्तव्यका साथ सफल भएको थियो। प्रमुख अतिथि पौडेलले साइकल चढेर उद्घाटन गरेपछि खुला सत्र सम्पन्न भएको थियो।
बाणगंगामा साइकल चलाउनेहरुको सहभागिता बढ्दै गएको क्लबमा युवा, पाकापुस्ता, र बालबालिका सबै सक्रिय छन्। क्लबको सदस्य संख्या ५५ पुगेको छ, जसमा साधारण र आजीवन सदस्यहरू छन्।
हरेक बिहान पहेलो र सेतो पोशाकमा ५ बजे साइकल चलाउँदै हिँड्ने राइडर्सको समूहले स्थानीयमा क्लबप्रति चासो र आकर्षण बढाएको छ। क्लबले साइकल चलाउनु मात्र नभएर दीनदुःखी र अशक्तहरूलाई पनि सहयोग गर्दै आइरहेको छ।