पुटिनले ह्यारिसलाई समर्थन गर्ने



रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई समर्थन गर्ने बताएका छन्।

रूसको भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक फोरम’का सन्दर्भमा आयोजित प्रश्नोत्तर सत्रमा पुटिनले ह्यारिसलाई समर्थन गर्ने बताएका हुन्।

‘अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै समर्थकलाई ह्यारिसको पक्षमा उतार्न आवश्यक छ’, उनले भने।

डोनाल्ड ट्रम्पले रूसमाथि अन्य अमेरिकी राष्ट्रपतिले भन्दा बढी प्रतिबन्ध लगाएको स्मरण गर्दै पुटिनले ह्यारिस यस्ता कार्यबाट टाढै रहने विश्वास व्यक्त गरे। गत फेब्रुअरीमा पुटिनले ट्रम्पको सट्टा बाइडेनको समर्थन गरेका थिए।

पुटिनको यो टिप्पणी ह्वाइट हाउसले पुटिनलाई अमेरिकी चुनावबाट बाहिर रहन आग्रह गरेको एक दिनपछि आएको हो। ​पुटिनले प्रायः व्यङ्ग्यका साथ संयुक्त राज्य अमेरिकामा राजनीतिक र सामाजिक मुद्दाहरूमा टिप्पणी गर्नेगरेको पाइन्छ ।

गत वर्ष उनले अमेरिकाको राजनीतिक प्रणाली बिग्रेको’ र वासिङ्टनले अन्य देशलाई लोकतन्त्रबारे सिकाउनु विरोधाभासपूर्ण भएको बताएका थिए।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ९ : १६ बजे