संयुक्त राष्ट्रसंघले अतिक्रमित वेस्ट ब्यांकमा इजरायलले गरेको आक्रमण तत्काल रोक्न माग गरेको छ । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणले पहिले नै खराब रहेको वेस्ट ब्यांकमा थप भयावह अवस्था उत्पन्न भएको बताएका छन् ।
वेस्ट ब्यांकमा आक्रमण रोक्न राष्ट्रसंघको आग्रह
‘वेस्ट ब्यांकमा बालबालिकासहित मानिसहरूको मृत्यु भएकोमा म कडा भर्त्सना गर्छु,’ सामाजिक सञ्जाल एक्समा गुटेरेसले लेखेका छन्, ‘म तत्काल कारबाही अन्त्यको माग गर्छु ।’
त्यस्तै, युरोपेली संघ (ईयू) का सहायत प्रमुखले पनि इजरायली आक्रमणले अन्तर्राष्ट्रिय कानुन उल्लंघन भएको जनाएका छन् । ‘अतिक्रमित वेस्ट ब्यांकको अवस्था झन् खस्किरहेको छ । यो अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको उल्लंघन हो,’ ईयूका मानवीय सहायता तथा संकट व्यवस्थापन आयुक्त यानेज लेर्नासिसले भने ।
इजरायली सेनाले दुई दिनअघि अतिक्रमित वेस्ट ब्यांकमा बुधबार आक्रमण सुरू गरेको थियो । जेनिन, तुबास र तुल्क्रम सहरमा गरिएका आक्रमणमा कम्तीमा १७ जनाको ज्यान गइसकेको छ । बीबीसीका अनुसार जेनिनमा ८, तुल्क्रममा ५ र टुबासमा ४ जनाको ज्यान गएको हो । इजराली आक्रमणमा कम्तीमा दुई दर्जन घाइते भएका छन् भने दर्जनौं भवनहरू ध्वस्त भएका जनाइएको छ । इजरायलले वेस्ट ब्यांकमा गरेकाे आक्रमण । तस्बिर : एपी
इजरायलले बुधबार सुरू गरेको आक्रमण सन् २००५ यता वेस्ट ब्यांकमा गरिएको सबैभन्दा भयानाक भएको बताइएको छ । यसअघि इजरायली डिफेन्स फोर्स (आईडीएफ), इजरायली सुरक्षा सेवा र प्रहरीले बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै वेस्ट ब्यांकमा आतंकवादविरुद्धको कारबाही सुरु गरेको जनाएको छ ।
अक्टुबर ७ मा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि इजरायलले गरेको जवाफी कारबाहीमा वेस्ट ब्यांकमा ६ सय ४० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ । सोही अवधिमा प्यालेस्टिनी आक्रमणमा १९ जना इजरायलीले ज्यान गुमाएका छन् ।