पृथ्वी राजमार्गस्थित दमौली-डुम्रे सडक खण्ड बुधबार बेलुकादेखि अवरुद्ध भएको छ । व्यास नगरपालिका-१२ स्थित घाँसीकुवामा बुधबार बेलुका सडक माथिबाट पहिरो खस्दा उक्त खण्ड पूर्णरुपमा अवरुद्ध भएको थियो
सडकभन्दा करिब ५० मिटर माथिबाट खसेको पहिरोले राजमार्ग पूर्णरुपमा पुरिएको जिल्ला प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए ।
उक्त खण्डको पहिरो बिहीबार बिहान करिव ७:४५ बजेबाट हटाउन सुरु गरिएको उनले बताए । प्रहरी नायव उपरीक्षक रायले भने, `ठूलो पहिरो गएकाले हटाउन समय लाग्ने दखिएको छ ।´
यस्तै यस राजमार्ग भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । साना तथा मझौला सवारीसाधनलाई दमौलीबाट तालघारे हुँदै रानीगाउँ निस्कन तथा घाँसीकुवाबाट रानीगाउँ हुँदै तनहुँको डुम्रे तर्फ निस्कने बाटो प्रयोग गर्न आग्रह गरिएको छ । यसैगरी हेभी सवारीसाधनलाई डुम्रे बेंसीसहर लमजुङ सडक खण्ड हुँदै पोखरा जाने मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।