दक्षिणी अफ्रिकाबासीहरू खडेरीको मारमा


२ भाद्र २०८१, आइतबार  

0
Shares


दक्षिणी अफ्रिकाका ६ करोड ८० लाख जना मानिस खडेरीको मारमा परेका छन् । पानी निकै कम पार्ने र तापक्रम बढाउने मौसमी प्रणाली ‘एल निनो’ का कारण शुरू भएको खडेरीको प्रभाव ६ करोड ८० लाख जना मानिसमा परेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यो अङ्ग्रेजी वर्षको शुरूदेखिको खडेरीले बाली तथा पशुपालनमा असर पारेको छ । खडेरीकै कारण खाद्यान्नको अभाव भएको छ भने अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याएको छ ।

१६ वटा देश सदस्य रहेको दक्षिणी अफ्रिकी विकास समुदाय (एसएडीसी) का राष्ट्र प्रमुखहरू जिम्बावेकाे राजधानी हरारेमा खाद्य सुरक्षासहित क्षेत्रीय मुद्दाहरूको बारेमा छलफल गर्न भेला भएका छन् । एसएडीसीका कार्यकारी सचिव एलियास मागोसीले यो क्षेत्रको १७ प्रतिशत जनसङ्ख्यालाई सहायताको आवश्यकता रहेको बताउनुभएको छ । एल निनोको प्रभावले वर्षा निकै ढिलो शुरू भएको, कम वर्षा भएको, गर्मी बढेको र खाद्यान्न उत्पादनमा कमी आएको उहाँको भनाइ छ ।

अहिले दक्षिणी अफ्रिकामा वर्षाैँपछिकाे सबैभन्दा खराब खडेरी परिरहेको छ । जिम्बाबे, जाम्बिया र मलावी लगायतका देशहरूले भोकमरीको सङ्कटलाई विपत्तिको अवस्था घोषणा गरिसकेका छन् भने लेसोथो र नामिबियाले मानवीय सहयोगका लागि आह्वान गरेका छन् ।

खडेरीको प्रभाव कम गर्न देशहरूले गएको मे महिनामा साढे पाँच अर्ब डलर सहायताको अपील गरेकोमा सहायता रकम आउन सकेको छैन । अन्तर्राष्ट्रिय सहयोग नआउँदा नागरिकलाई राहत दिन असमर्थ भएको एङ्गोलाका राष्ट्रपति जोआओ लोरेन्कोले बताउनुभएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १० : ५० बजे