हुलाक सेवामा रहेका १ हजार ६३६ दरबन्दी खारेज गर्ने सरकारको निर्णय


२५ माघ २०८०, बिहिबार  

70
Shares

 सरकारले हुलाक सेवामा रहेका १ हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ। 

बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले नेपालको हुलाक सेवाको संगठन संरचना परिर्वतन गरी १ हजार ६सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनले सरकारले एक पालिका एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको पनि बताइन्। उनले हुलाक सेवाको केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालय पनि खारेज गर्ने निर्णय भएको बताइन्।

सरकारले विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सौद्धान्तिक स्वीकृत दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन्।

उनले गरिब परिवार पहिचान परिचयपत्र वितरण निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय भएको पनि बताइन्।

उनले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयार विकास समिति गठन आदेश २०८० बमोजिम अध्यक्ष पदमा महोत्तरी जिल्लाका डा. पर्शुराम मिश्रलाई नियुक्ति गर्ने निर्णय भएको पनि जानकारी दिइन्।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ८ : २३ बजे