पूर्वसांसद तामाङलाई ३ वर्ष कैद, झण्डै १ अर्ब ७३ कराेड जरिवाना


२१ माघ २०८०, आइतबार  

28
Shares

 सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्वसांसद एवं व्यवसायी इच्छराज तामाङलाई ३ वर्ष कैद सजाय सुनाइएको छ।

विशेष अदालतले आज (आइतवार) कैद सजाय सहित १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ जरिमानासमेत गराएको उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार तामाङकी पत्नी सृजना शाक्य तामाङलाई डेढ वर्ष कैद तथा १ अर्ब ३ करोड ५४ लाख ४३ हजार रुपैयाँ जरिमाना गरिएको छ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले अर्का प्रतिवादी सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि डेढ वर्षको कैद सजाय सुनाउँदै २५ करोड ६५ लाख ८६ हजार रुपैयाँ जरिमाना गरेको छ।

साथै इजलासले प्रतिवादीहरु तामाङ, उनकी पत्नी, दुई छोरीहरु प्रतीक्षा र प्रतिष्ठाका साथै केशवलाल श्रेष्ठ र मिना श्रेष्ठको नाममा रहेको सम्पत्ति जफत हुने आदेश गरेको छ।

विशेष अदालतले सिभिल सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका तामाङसहित उनको परिवारको केही सदस्यलाई सम्पत्ति शुद्धीकरण मुद्दामा माघ ७ गते दोषी ठहर गरेको थियो तर सजाय निर्धारणका लागि भने आज पेशी तोकिएको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष तामाङसहित उनको परिवारका ६ जनाविरुद्ध २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ७ : ३९ बजे