राष्ट्रपति-अमिर वार्ता : मध्यपूर्वको युद्धमा चासो, जलवायु परिवर्तनको संकट टार्न सहकार्य गर्ने


११ बैशाख २०८१, मंगलबार  

0
Shares

राष्ट्रपति पौडेलले यस क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनःस्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरे ।

त्यस्तै कतारका अमिर अल थानीले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौताहरूको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद् वातावरण तयार हुने बताए ।

उनले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे ।

अमिर अल थानीले कतारको विकासमा नेपालीहरुको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गरे ।

उनले दुई देशबीच बुधबार हुने समझदारी तथा सम्झौता नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रहरुमा लगानीको नयाँ सम्भावनाहरु बढाउन सकिने विश्वास जनाए ।

त्यस्तै नेपाल र कतारबीच सदैव सुमधुर सम्बन्ध रहीआएको बताउँदै राष्ट्रपति पौडेलले हाम्रा सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सद्भावमा आधारित रहेको स्पष्ट पारे ।

दुई मुलुकबीच नियमितरूपमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान हुने परम्परा रहिआएको र यसबाट द्विपक्षीय सम्बन्धको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख राष्ट्रपति पौडेलले गरे ।

यो ऐतिहासिक भ्रमणले नेपाल र कतारको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको पौडेलले बताएका छन् ।

राष्ट्रपति पौडेलले  राजनीतिक रूपान्तरणका मुद्दाहरू टुङ्गोमा पुगेसँगै नेपाल अब आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै विकास र समृद्धि हासिल गर्ने नेपालको प्रयासहरूमा कतारको सहयोग निरन्तर रहने विश्वास जनाए ।

दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको राम्रो सम्भावना रहेको सन्दर्भमा यी क्षेत्रहरुमा हाम्रो सहयोग एवं सहकार्य भविष्यमा थप घनिभूत हुने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे ।

कतार नेपाली कामदारहरूको लागि वैदेशिक रोजगारीको एक प्रमुख एवं आकर्षक गन्तव्य मुलुक रहँदै आएको र आधुनिक कतारको विकासमा नेपाली कामदारहरूले पनि उल्लेखनीय योगदान गरेको स्मरण गराए ।

राष्ट्रपति पौडेलले अमिरको दूरदर्शी नेतृत्वमा कतारले गरेको दिगो विकास र समृद्धि देखेर धेरै खुसी लागेको बताउँदै मुलुकलाई एक उच्च विकसित राष्ट्र बनाउने अमिरको दीर्घकालीन सोच र दृढ अठोटको प्रशंसा गरे । भेटवार्ता पछि अमिर अल थानीले राष्ट्रपति कार्यालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ११ : ०३ बजे