आखिर किन फेरिँदैझन् गृहमन्त्री ?


७ माघ २०८०, आइतबार  

14
Shares


यो अवस्थामा अब हुने मन्त्रिपरिषद फेरबदलमा प्रधानमन्त्री दाहालले गृहमन्त्रालय कांग्रेई दिएर अर्थ मन्त्रालय आफ्नो दलमा राख्न चाहेको स्रोतले बतायो ।

प्रधानमन्त्रीले माघ १५ भित्रै अर्थ र गृहमन्त्रालय साटासाट गर्न भने पनि देउवाले महासमितिको बैठक पछि मात्रै मन्त्री हेरफेर गर्न प्रधानमन्त्रीलाई जवाफ दिएका छन् ।

देउवा निकट स्रोतले खबरहबसँग भन्यो, ‘महासमिति बैठक अगाडि नै मन्त्री फेर्दा मलाई पार्टीभित्र गाह्रो हुन्छ, त्यसैले महासमिति बैठकपछि मात्रै हेरफेर गरौं भन्ने जवाफ सभापतिज्यूले प्रधानमन्त्रीलाई दिनुभएको छ ।’

नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ गते बोलाएको छ ।

कांग्रेसबाट गृहमन्त्रीमा को ?

नेपाली कांग्रेसले अर्थ मन्त्रालय छाडेर गृहमन्त्रालय लिने अवस्थामा कसलाई गृहमन्त्री बनाउने भन्ने प्रश्न निरुत्तरित छ । यो विषयले कांग्रेसभित्रको गुटगत राजनीतिलाई थप बढावा दिने जोखिम पनि छ । यही भएर सभापति देउवाले महासमिति बैठक अगावै मन्त्रिपरिषद हेरफेर नगर्न भनेको कांग्रेसका एक नेताले बताए ।

कांग्रेसबाट गृहमन्त्रीका दाबेदार महामन्त्री गगन थापासमेत भएता पनि सभापतिले संस्थापन पक्षकै नेतालाई पठाउने सो समुहको दाबी छ । प्रधानमन्त्री दाहालले भने गगनलाई ल्याउन चाहेको स्रोत बताउँछन् ।

स्रोतले भन्यो, ‘प्रधानमन्त्री दाहालले गगन थापा, वर्षमान पुन, राजेन्द्र पाण्डे र राजकिशोर यादवलाई बोलाएर आफूलाई साथ दिन आग्रह गरेको अवस्था छ, त्यसैले उनी यही टिमलाई सरकारमा समेट्न चाहन्छन् ।
तर, कांग्रेसभित्रको शक्ति सन्तुलनका आधारमा देउवाले जसलाई पठायो, उसैले गृहमन्त्री पाउने स्थिति छ ।

राष्ट्रियसभामा अन्याय भएको भन्दै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले मन्त्रालयमा थप दाबी गरेको हुनाले मन्त्रिपरिषद हेरफेर गर्दा एकीकृत समाजवादीलाई पनि चित्त बुझाउनुपर्ने स्थिति छ । सिके राउतको जनमत पार्टीले भने सामान्य प्रशासन मन्त्रालय छाडेर सरकारबाट बाहिरिने चेतावनी दिइरहेको छ ।

माधव आउट भए रविलाई भित्र्याइने

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसँग पनि समदुरी कायम गर्ने प्रयास गरेका छन् । नेपाली कांग्रेसबाट पेलाइ बढी भयो भने एमालेसँग मिल्ने र सकभर पाँचै वर्ष सरकारमा रहने रणनीति अनुसार दाहालले एमालेलाई नचिढ्याउने नीति लिएका हुन् ।
यसका लागि एकीकृत समाजवादी पार्टी सरकारबाट बाहिर गइहाल्यो भने रवि लामिछानेको पार्टीलाई सरकारमा ल्याएर सुरक्षित हुने रणनीतिमा पनि प्रचण्ड रहेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ५ : २५ बजे