अर्थमन्त्री वर्षमान पुनले सरकारलाई पैसाको अभावभन्दा पनि खर्च गर्ने क्षमता वृद्धि गर्न आवश्यक रहेको बताएका छन्।
बुधवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
उनले सरकारसँग अहिले पर्याप्त मात्रामा पैसा रहेको बताए। अर्थमन्त्री पुनले लगानी गर्ने पर्याप्त पुँजी हुँदासमेत खर्च गर्ने क्षमतामा कमी भएकाले वैदेशिक सहायता पनि खर्च गर्न नसकिएको बताए।
विदेशी सहयोगमा प्रतिबद्धता भएको ५ खर्बभन्दा बढी रकम रहेको बताउँदै अर्थमन्त्री पुनले सरकारको वार्षिक पुँजीगत बजेट जम्मा ३ खर्ब रहेको स्मरण गरे।
उनले निवर्तमान अर्थमन्त्रीले सकारात्मक रुपमा चुनौती दिए पनि अब सरकारले सहयोग जुटाउनेभन्दा पनि खर्च गर्न आवश्यक रहेको बताए। उनले प्रतिबद्धता भएको रकमसमेत खर्च गर्न नसकेको भन्दै कमजोरीका विषयमा सबैले समीक्षा गर्नुपर्नेमा जोड दिए।
उनले विगतमा वैदेशिक साहयता २० देखि २५ प्रतिशत खर्च हुने गरेको भए पनि अहिले ७ प्रतिशतमा सिमित रहेको बताए। उनले पछिल्लो १२ वर्षमा बजेट आकार बढेर ५ खर्बबाट १७ अर्ब पुगेको बताए।
सार्वजनिक वित्तको क्षेत्रमा देखिएका चुनौतीलाई समाना गर्न सकिने अवस्थामा रहेको तर देशको समृद्धि, सुशासन, सामाजिक न्याय सबैको साझा प्रतिबद्धता भएकाले सबैसँग सहयोगको अपेक्षा गरेको उनले बताए।
उनले विगतमा जस्तो नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीति फरक–फरक भएकाले अब एकीकृत रुपमा ल्याउने प्रतिबद्धता जनाए।