हतार हतार बनाइँदै हल


२६ फाल्गुन २०८२, मंगलबार  

0
Shares


प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणतर्फ पुगेसँगै नयाँ निर्वाचित सांसदहरूको शपथ ग्रहण तथा संसद् अधिवेशनको तयारी सुरु भएको छ ।

संवैधानिक व्यवस्था अनुसार निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान रहेको छ । तर आगामी संसद्का लागि बैठक तथा शपथ ग्रहण कार्यक्रम सञ्चालन गर्ने स्थायी हल भने अझै पूर्ण रूपमा तयार भइसकेको छैन ।

अधिवेशनअघि सांसदहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिनेछ । सो क्रममा सबैभन्दा ज्येष्ठ सदस्यले सबैभन्दा पहिले सम्माननीय राष्ट्रपतिबाट शपथ लिनेछन् र त्यसपछि उनले अन्य सांसदहरूलाई शपथ गराउने व्यवस्था रहेको छ।

हाल संसद् बैठक बस्ने स्थायी भवन उपलब्ध छैन । ‘जेन-जी’ आन्दोलनका क्रममा संसद् भवनमा आगलागी भएपछि नियमित बैठक सञ्चालनका लागि वैकल्पिक स्थानको व्यवस्था गर्नुपर्ने अवस्था आएको हो ।

यसको विकल्पका रूपमा सिंहदरबार परिसरभित्र निर्माणाधीन नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय हललाई अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

उक्त हलको निर्माण अन्तिम चरणमा पुगेको र केही हप्ताभित्रै सम्पन्न हुने अपेक्षा गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।

यसैबीच संघीय संसद् सचिवालयले नयाँ निर्वाचित सांसदहरूको क्षमता अभिवृद्धिका लागि दुई दिनको अभिमुखीकरण
कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रवक्ता गिरीका अनुसार कार्यक्रममा मुख्यतः कानुन निर्माण प्रक्रिया, संसद्मा प्रश्न कसरी उठाउने लगायतका व्यवहारिक विषयहरूमा केन्द्रित भएर प्रशिक्षण दिइनेछ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ३ : ३५ बजे