इरानी युद्धपोतमाथि अमेरिकी हमला, ८० नौसैनिकको मृत्यु


२० फाल्गुन २०८२, बुधबार  

0
Shares


अमेरिका–इजरायल र इरानबीच जारी युद्धको आज पाँचौं दिनमा हिन्द महासागर क्षेत्रमा ठूलो समुद्री घटना भएको छ। अमेरिकाले भारतबाट फर्किंदै गरेको इरानी युद्धपोतलाई श्रीलङ्काको समुद्री क्षेत्र नजिकै आक्रमण गरी डुबाएको जनाएको छ।

श्रीलङ्काली सरकारी स्रोतका अनुसार उक्त आक्रमणमा हालसम्म ८० इरानी नौसैनिकको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा करिब १८० जना नौसैनिक सवार रहेको बताइएको छ भने ३२ जना घाइतेलाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ। बाँकी बेपत्ता सैनिकहरूको खोजीका लागि सर्च तथा रेस्क्यु अभियान जारी रहेको जनाइएको छ।

अमेरिकी रक्षा मन्त्री पेट हेग्सेथले हिन्द महासागरमा रहेको अमेरिकी पनडुब्बीले टर्पेडो प्रहार गरी इरानी जहाजलाई निशाना बनाएको बताएका छन् । उनका अनुसार उक्त कारबाही सुरक्षा रणनीतिअनुसार गरिएको हो ।

घटना श्रीलङ्काको दक्षिणी सहरबाट करिब ४० समुद्री माइल (झण्डै ७५ किलोमिटर) टाढा भएको हो । श्रीलङ्काली अधिकारीहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिरालाई जानकारी दिँदै बुधबार बिहान करिब ६ देखि ७ बजेको बीचमा जहाजबाट आपतकालीन सन्देश आएको बताएका छन्।

उक्त युद्धपोत गत महिना भारतको विशाखापट्टनममा आयोजित २०२६ इन्टरनेशनल फ्लीट रिभ्युमा सहभागी भएर फर्किरहेको थियो । आक्रमणपछि क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ भने अन्तर्राष्ट्रिय समुदायले घटनाप्रति चासो व्यक्त गर्न थालेका छन्। यस घटनाले हिन्द महासागर क्षेत्रमा बढ्दो तनावलाई अझै गहिरो बनाएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १० : १६ बजे