गुल्मीमा म्यादी प्रहरीमा आवेदन दिन दुई दिनका लागि म्याद थप


३ माघ २०८२, शुक्रबार  

84
Shares



गुल्मीमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ । मागअनुसार निर्वाचन प्रहरी अपुग भएपछि आवेदन दिने म्याद थप गरिएको हो ।

माघ १ गतेसम्म आवेदन माग गरिएको भए पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि नेपाल प्रहरीले शुक्रबार र शनिबारसम्मका लागि म्याद थप गरेको हो ।


नेपाल प्रहरीअन्तर्गत जिल्लामा १ हजार ६९५ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म १ हजार १२८ जनाको मात्रै आवेदन परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । माग गरिएको संख्याभन्दा उल्लेख्य रूपमा कम आवेदन परेपछि थप समय दिइएको कार्यालयले जनाएको छ ।


यसैगरी, सशस्त्र प्रहरी बलअन्तर्गत १७९ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म १३१ जनाको आवेदन परेको छ । सशस्त्र प्रहरीतर्फ पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि आवेदन म्याद थप गरिएको जनाइएको छ ।


जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति पूर्ति गर्न म्याद थप गरिएको हो । तोकिएको योग्यता पूरा गरेका इच्छुक युवालाई तोकिएको मितिभित्र आवेदन दिन आग्रह गरिएको छ ।


निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न पर्याप्त सुरक्षाकर्मीको व्यवस्था आवश्यक भएकाले थपिएको दुई दिनमा आवेदन संख्या बढ्ने अपेक्षा गरिएको छ ।


आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि देशभर १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना प्रक्रिया जारी छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शुक्रबार  ९ : ५४ बजे