काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध एयरको जहाज दुर्घटनामा परेको छ । ९ एन एएमएफ कलसाइन भएको जहाज दुर्घटनामा परेको हो ।
जहाज रन वेबाट चिप्लिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले काठमाडौँ–भद्रपुर उडानको ९ एन एएमएफ कलसाइन भएको एटिआर ७२ जहाज दुर्घटनामा परेको बताउँदै यात्रु र चालक दलका सदस्य सबै सकुशल रहेको बताए ।
यही जहाजमा झापाकै अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ पनि थिए । उनले जहाज ग्राउण्डमा ल्याण्ड भइसकेपछि रोकिँदै नरोकिएको सुनाए ।
‘ल्याण्ड राम्रै भएको थियो । रोकिँदै रोकिएन । ढोका फुटाएर निस्कियौँ । अगाडि एउटा भाइले फुटायो । पछाडि अर्काे भाइले फुटाएर हामी हाम्फालेर बाँच्यौँ’ उनले खबरहबसँग भने ।
जहाजको इमर्जेन्सी ढोका यात्रु उमेश मोक्तानले खोलेका थिए । उनले भने, ‘एयर होस्टेज आतिएपछि मैले धकेल्दिएर जहाजको इमर्जेन्सी ढोका खोलेँ।’
बुद्ध एयरका अनुसार जहाजमा ५१ जना सवार थिए । जहाजमा सवार सबै सकुशल छन् ।
अहिले दुर्घटनामा परेको जहाजबारे अध्ययन गर्न टेक्निकलटिम लिएर बुद्धको अर्काे जहाज झापा पुगेको छ ।




