जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री


२ पुस २०८२, बुधबार  

0
Shares


जुम्ला तातोपानीको धौलापानीमा फलेको सम्लामा यस वर्ष ४१ करोड बढीको च्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयका अनुसार मंसिर तेस्रो सातासम्म ४१ करोड २९ लाख ८९ हजार २७० रुपैयाँको स्याउ निर्यात भएको हो ।

कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार मंसिर २२ गते तयार पारिएको स्याउ निर्यातको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा पाँच हजार ५९१ मेट्रिकटन स्याउ निर्यात भएको छ ।


यसपटक जुम्लाको स्थानीय स्याउ बगैँचाबाटै प्रतिकेजी ५० देखि ६५ रुपैयाँमा बिक्री भएको छ । केही पालिकाका बगैँचामा ७० रुपैयाँमा पनि बिक्री भएको कार्यालयले जनाएको छ । इटालियन फुजी स्याउ १७५ रुपैयाँभन्दा माथिको मूल्यमा बिक्री भएको छ ।
कार्यालयका अनुसार यस वर्ष स्थानीय स्याउ जिल्लाभित्रको खपत परिणाम ४४१५ मेट्रिक टन अर्थात २५ प्रतिशत रहेको छ । नासो, कोशेलीमार्फत समेत १५ प्रतिशत जिल्ला बाहिर गएको छ ।


यसैगरी उत्पादन भएको स्याउमा १५ प्रतिशत अर्थात २६४८.८१ मेट्रिकटनको चाना, जुस, जाम, साइडर, ब्राण्डी, माड बनाइएको छ । यता उच्च घनत्वको स्याउ ५८६ मेट्रिकटन उत्पादन भएको छ ।
असिनापानीले घट्यो उत्पादन


असिनापानीका साथै किरा लागेपछि अघिल्लो आर्थिक वर्षको तुलनामा स्याउ उत्पादन घटेको छ । कार्यालयका अनुसार गत वर्ष स्याउ फुल्ने बेलामा आएको भीषण असिनाले यस वर्ष स्याउ घटेको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा २० हजार ५१२ मेट्रिक टन मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष १८ हजार २४५ मेट्रिक टन उत्पादन भएको छ ।

यसैगरी गत आर्थिक वर्षमा ७० करोड १५ लाख ५९ हजार ४०० बराबरको स्याउ निर्यात भएकोमा यस मंसिरसम्म ४० करोडको मात्रै बिक्री भएको छ ।

केही स्याउ कोल्ड स्टोरका साथै घरमा पनि राखिएकोले निर्यात र रकम बढ्न सक्ने अनुमान छ ।

४४९७ हेक्टरमा स्याउ रोपियो

जुम्लामा स्याउ रोप्ने क्षेत्रफल भने बढ्दै गइरहेको छ । कृषि विकास कार्यालयको तथ्यांक अनुसार यस वर्ष चार हजार ४९७ हेक्टर क्षेत्रफलमा स्याउ बिरुवा रोपिएको छ ।

रोपिएको स्याउ मध्यमा दुई हजार १६५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन भएको छ । जसमा उच्च घनत्वको स्याउ ५२ हेक्टरमा लगाइएको र यस वर्ष ४० हेक्टरमा उच्च घनत्वको स्याउ फलेको कृषि कार्यालयले जनाएको छ ।

जुम्लामा रेडडेलिसेस, रोयल डेलिसेस, गोल्डेन , रिचा रेड, जनाथन, स्पोरलगायत स्थानीय विभिन्न जातका स्याउ फल्छन् । उच्च घनत्वका गाला र फुजी स्याउको पनि उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १० : ४८ बजे