धनकुटा : विवादका बीच नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट भएका छन्।
एमाले धनकुटामा प्रतिनिधी छनौटमा सहमति जुट्न नसकेपछि केन्द्रिय सदस्य राजेन्द्र राई पक्षले मतदान प्रकृयाबाट प्रतिनिधि छनौट गरेको हो। प्रदेश सचिवालय सदस्य इन्द्रमणि पराजुली पक्षले एकलौटी गरेको भन्दै मतदान प्रक्रिया बहिस्कार गरेको थियो।
मतदान प्रक्रियाबाट सबै राई पक्षका निर्वाचित भएका छन्। जसमा खुल्लातर्फ शिव आङ्ला, चिन्तन तामाङ, पर्शुराम नेपाल, निरन राई, खजिन्द्र राई, शान्तिराम गौतम र अर्जुन छाराहाङ निर्वाचित भएका छन् ।
यस्तै महिलातर्फ तुलसी राई, निर्मला इवाहाङ, गोमा कार्की र सम्झना आले निर्वाचित भएका छन् भने युवातर्फ सरोज राई निर्वाचित भएका छन्। दलिततर्फ नैन विश्वकर्मा सर्वसम्मत भएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए।
खुल्लातर्फ राई पक्षका शिव आङ्लाले ३ हजार ६ सय ९७, चिन्तन तामाङले ३ हजार ६ सय ६४, पर्शुराम नेपालले ३ हजार ६ सय ७, निरन राईले ३ हजार ६ सय ८१, खजिन्द्र राईले ३ हजार ६ सय ११, शान्तिराम गौतमले ३ हजार ३ सय ९२ र अर्जुन छाराहाङले ३ हजार ६ सय ३८ मत ल्याएर निर्वाचित भएका हुन्। उनीहरुका प्रतिद्धन्दी पराजुली पक्षका निरेन तामाङले ३ सय १४ र मनोज राईले ४ सय ३ मत प्राप्त गरेका थिए।
यस्तै महिलातर्फ राई पक्षका तुलसी राईले ३ हजार ४ सय ९, निर्मला इवाहाङले ३ हजार ६ सय ४, गोमा कार्कीले ३ हजार ५ सय ६८ र सम्झना आलेले ३ हजार ४ सय २२ मत पाएर विजयी भएका हुन भने उनीहरुका प्रतिद्धन्दी पराजुली पक्षका मनकुमारी तितुङ ताराले २ सय ८९ मत पाएकी थिइन। यता युवातर्फ राई पक्षका सरोज राईले ३ हजार ५ सय ४९ मत पाएर विजयी भए भने पराजुली पक्षका कमल कार्कीले २ सय १५ मत पाएका थिए।
निर्वाचित प्रतिनिधिहरूलाई एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राई, एमाले कोशी प्रदेश कमिटी सदस्य खण्डमान राई, प्रमुख निर्वाचन अधिकृत नहकुल राई लगायतले निर्वाचित प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गर्दै बधाई ज्ञापन गरेका थिए।
यता पराजुलीसहित उनका पक्षका नेताले राजेन्द्र राई पक्षले मनोमानी गरेर अघि बढाएको मतदान नमानिने बताएको छ। पराजुली पक्षले निर्वाचनको क्रममा बहिष्कार गर्दै तालाबन्दी र मतपत्र च्यातेका थिए। उनीहरूले चाउचाउको कार्टुनमा मतदान गरिएको बताए पनि महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन्।
एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य पराजुलीले सहमति गर्ने भनेर अधिकांश उम्मेदवारलाई मनोनयन फिर्ता लिन लगाई गुटगत मतदान गरिएको बताए। त्यहाँ चाउचाउका कार्टुनमा मत खसालेर महाधिवेशन प्रतिनिधिको छिनोफानो हुनुअघि ४ जना प्रतिनिधि पराजुली र ९ जना राई पक्षलाई दिने सहमति भएको पराजुलीले बताए। उनले सोही अनुसार आफ्ना पक्षका ४ जनाको मात्रै नाम राखेर अन्यको नामावली फिर्ता गरिएको जानकारी दिए।
धनकुटामा असन्तुष्टमध्ये केन्द्रीय सदस्य शकुन्तला बस्नेत, नेताहरू चन्द्र बस्नेत, मञ्जु अधिकारी, बलदीप राई, निरेन तामाङ र तारा तितुङ लगायत रहेका छन्। मतदान भएको धेरै ठाउँमा फर्जि मत हालेर आफ्नो पक्षका नेतालाई मात्रै जिताएको पराजुली पक्षको आरोप छ।
पराजुली पक्षका नेता निरेन तामाङले फेसबुकमा स्टाटस लेख्दै एकै जनाले पचास साठी मत हान्न पाउने जिन्जी विधीबाट मतदान गराई विजयी भएको भन्दै बधाइ दिएका छन्। राई पक्षले गराएको मतदानमा पराजुली पक्षले मतदान नगरेको बताइएको छ।
यसैबीच एमालेको धनकुटामा देखिएको विवाद केन्द्रदेखिको नभइ धनकुटाको विवाद भएको बताइएको छ। एमाले केन्द्रिय सदस्य राई र प्रदेश सचिबालय सदस्य पराजुली दुवै एमाले अध्यक्ष केपी ओली पक्षका नेता हुन्।
अहिले एमालेमा को बढी अध्यक्षको नजिक देखिने तथा जिल्लामा कसले प्रभुत्व जमाउने भन्ने विवाद रहेको बताइएको छ। प्रदेश सचिबालय सदस्य पराजुली पहिलेबाटै ओली पक्षका नेता हुन भने राई बामदेव गौतम, झलनाथ खनाल हुँदै हाल आएर ओली पक्षमा समहित भएका नेता रहेको धेरै बताउने गरेका छन्।
यसअघिको जिल्ला अधिवेशनमा समेत राई र पराजुली पक्ष छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए, त्यसमा राई पक्षका पदाधिकारी सहित अधिकांश पदमा निर्वाचित भएका थिए। २०७४ को निर्वाचनमा स्थानीय तहदेखि संघीय सांसदसमेत क्लिन स्वीप गरेको एमाले आफ्नै कारण धनकुटामा बिग्रिने अवस्थामा पुगेको नेताहरुको भनाइ छ।
एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुदैछ




