मनाङमा प्रदेशसभा उपचुनाव नहुने


२० आश्विन २०८२, सोमबार  

0
Shares


कात्तिक १७ गतेका लागि तय भएको मनाङ १ (ख) को प्रदेशसभा उपचुनाव स्थगित भएको छ ।

निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै उपनिर्वाचन स्थगित भएको जानकारी दिएको हो । मन्त्रिपरिषदका सदस्यहरुसँगको छलफलपछि आयोगले यस्तो निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तहरु डा. सगुन समशेर जबरा, डा. जानकी तुलाधर लगायतको उपस्थिति रहेको आयोगले जनाएको छ ।

यस क्षेत्रबाट निर्वाचित सांसद दीपक मनाङ्गे भनिने राजिव गुरुङ ज्यान मार्ने कसुरमा दोषी ठहर भएपछि उपनिर्वाचन हुने तय भएको थियो ।

गत भदौ २३ मा भएको आन्दोलन र त्यसपछि घटनाका कारण निर्वाचन गराउने कार्य प्रभावित भएकाले चुनाव स्थगनको निर्णय भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ७ : १९ बजे