अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानहरूमा १५ प्रतिशत भन्सार कर लगाउने घोषणा गर्नुभएको छ । उहाँले यो कदमलाई पूर्ण व्यापार सम्झौता बताउनु भएको छ ।
जापानले यसैहप्ता अमेरिकासँग १५ प्रतिशतको भन्सार करको सम्झौता गरेपछि, दक्षिण कोरियामाथि सम्झौता गर्न दबाव झनै बढेको हो ।
सम्झौताको एक अंशस्वरूप दक्षिण कोरियाले अमेरिका भित्र ३ सय ५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको बीबीसीले जनाएको छ ।
सन् २०२४ मा अमेरिकासँग ५६ अर्ब डलरको व्यापार लाभ कमाएको दक्षिण कोरियाका लागि यो सम्झौता सफल रूपमा प्रस्तुत गरिएको छ ।
१५ प्रतिशतको भन्सारकर दक्षिण कोरियाका मुख्य निर्यात सामानहरु कार र सेमिकण्डक्टरमा लागू हुनेछ । तर स्टिल र एलुमिनियमजस्ता अन्य महत्त्वपूर्ण सामानहरुमा भने ट्रम्पले तोक्नुभएको ५० प्रतिशतको विश्वव्यापी दर अनुसार कर लाग्नेछ ।
यद्यपि, दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युंगले यो सम्झौतालाई अन्य राष्ट्रहरूसँग बराबरी वा अझ राम्रो स्थितिमा राख्ने सम्झौता भएको भन्दै सकारात्मक प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ । ३५० अर्ब डलरमध्ये १५० अर्ब डलर अमेरिकी युद्धपोत तथा अन्य जलपोत निर्माणका लागि लगानी गरिनेछ ।
जलपोत निर्माणमा दक्षिण कोरिया चीनपछि विश्वकै दोस्रो ठूलो उत्पादनकर्ता राष्ट्र हो, र यस क्षमताको प्रयोग गरेर उसले अमेरिका सँग सुरक्षा साझेदारी मजबुत पार्न खोजेको देखिन्छ ।