राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङदेनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताएका हुन्। उनले देशले अवलम्बन गरेको प्रणाली नै दोषी रहेको उल्लेख गर्दै यो प्रणालीबाट अपेक्षित परिवर्तन गर्न सम्भव नभएको बताए।
उनले अहिलेको प्रणाली गणतन्त्र नभई लुटतन्त्र भएको टिप्पणीसमेत गरे। उनले कसैलाई निषेध गरेर मुलुक अगाडि बढ्न सक्दैन भन्नेकुरा प्रमाणित भइसकेको भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।
उनले भने, ‘हामीले अवलम्बन गरेको प्रणाली दोषी छ। त्यसैले अब यही निर्वाचन प्रणाली, यही नियुक्ति प्रणाली, यही ऐन निर्माण गर्ने विधिबाट हामीले अपेक्षा गरेको परिवर्तन सम्भव छैन मात्र होइन कुनै हालतले देश अगाडि बढ्न सक्दैन। अहिले यो कुरा राप्रपाले मात्रै होइन, यो उत्कृष्ट व्यवस्था हो भनेर ल्याउने, लड्ने सबैले पनि स्वीकारिसक्नु भएको अवस्था हो। त्यसकारण अब देश यहीँ अडिइराख्न सक्दैन। राप्रपाले पछाडि फर्किने कुरा गरेको होइन । तर अब देश यहीँ बसिराख्न पनि सक्दैन । अब नयाँ सम्झौता गरेर अगाडि जानुपर्छ।’
उनले विभिन्न भ्रष्टाचारका काण्डहरु आए पनि त्यसको निष्पक्ष रुपमा छानबिन हुन नसकेको बताए।