राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर करिब साढे ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रथम त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा ३.४ प्रतिशत आर्थिक वृद्धि रहने प्रारम्भिक अनुमान गरेको हो ।
उक्त अवधिमा निर्माण क्षेत्र ऋणात्मक र अन्य केही क्षेत्रको विस्तारमा संकुचन आउने प्रक्षेपण छ । कार्यालयका अनुसार कृषि उत्पादन, विद्युत् उत्पादन तथा वितरण, पर्यटन आगमन र होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धिका कारण सकारात्मक आर्थिक वृद्धि रहने देखिएको हो । ‘यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो । खासगरी यस अवधिमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेका कारणले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको अनुमान छ,’ प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका १८ औद्योगिक वर्गीकरणमध्ये १७ वटाको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक छ । जसमध्ये विद्युत् तथा ग्याससँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर २१.४ प्रतिशत छ भने यातायात तथा गोदाम क्षेत्र ६.७ प्रतिशत छ ।
‘आवास तथा भोजन सेवा क्षेत्रले ६.३ प्रतिशत वृद्धिदर कायम गरेको छ । निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बिमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ५.७ प्रतिशत हुने अनुमान छ,’ प्रतिवेदनमा भनिएको छ, ‘प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.४ प्रतिशत र पेसागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।’ तर, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा निर्माणसम्बन्धी वस्तुको आयातमा गिरावटले निर्माण क्षेत्र झिनो अंकले संकुचनमा रहेको प्रारम्भिक अनुमान छ ।
अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर तीन प्रतिशत हुने अनुमान कार्यालयको छ । धानलगायत वर्षे बालीको उत्पादन बढ्नुका साथै तरकारी तथा नगदे वाली र पशुपक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता हेमराज रेग्मीले बताए ।
‘समयमै मलको उपलब्धता, उन्नत बिउको प्रयोग, तथा यथेष्ट मनसुनी वर्षा भएकाले कृषिजन्य उत्पादनमा वृद्धि भएको हो,’ उनी भन्छन्, ‘यद्यपि बाढीपहिरो क्षति पुर्याएकाले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन सकेन ।’