हतियार बोकेर सरकारी कार्यालय जान रोक



न्यायिक निकाय, संसद भवनरपरिसर, सरकारी कार्यालयहरु, अस्पताल, बिमानस्थल, सार्बजनिक सबारी साधन, धार्मिक तथा शैक्षिक स्थल, सिनेमा हल, व्यवसायिक भवन, हाटबजार तथा सपिङ मल, सभा, जुलुस भएको स्थान, पुरातात्विक र संरक्षित स्थल, बाल गृह आदीठाउमा इजाजतप्राप्त हतियार बोकेर हिँड्न पाइने छैन

काठमाडौँ — सरकारले इजाजत प्राप्त हातहतियार सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा बोकेर हिड्न रोक लगाएको छ । गृह मन्त्रालयले संसद भवन, अदालत, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था, सार्वजनिक यातायात, हाटबजार तथा सपिङ मल, सिनेमा हललगायत सरकारी तथा सार्वजनिक स्थलमा दर्ता हतियार बोकेर हिँड्न नपाउने गरी आदेश जारी गरेको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईका बडिगार्ड २०८० चैतमा सर्वोच्च अदालत परिसरबाट स्वचालित हतियार र गोलीगठ्ठासहित पक्राउ परेपछि सरकारले देशभर इजाजतप्राप्त हतियारको लगत र खोजबिनमा जुटेको थियो । त्यसपछि इजाजत हतियार प्रयोगसम्बन्धी मापदण्ड बनाउँदै दर्ता हतियार घरबाहिर लिएर हिँड्न रोक लगाउने गरी गृह मन्त्रालयले भदौ ३१ मा राजपत्रमा सूचना जारी गरेको हो ।

‘नेपाल सरकारले हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा ३ बमोजिम हातहतियार राख्न वा लिएर हिड्न इजाजत प्राप्त गरेका तर दफा ४ र ५ बमोजिम यात्रा इजाजतपत्र प्राप्त नगरेका हातहतियार घरबाहिर लैजान नपाउने र इजाजत प्राप्त हतियारसमेत न्यायिक निकाय, संसद भवन तथा परिसर, हातहतियारको इजाजत लिएको कार्यालयमा इजाजत नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजनबाहेक सरकारी कार्यालयहरु, अस्पताल, विमानस्थल, सार्वजनिक सवारी साधन, धार्मिक तथा शैक्षिकस्थल, सिनेमा हल, व्यवसायिक भवन, हाटबजार तथा सपिङ मल, सभा, जुलुस भएको स्थान, पुरातात्विक र संरक्षित स्थल, बाल गृह तथा प्रचलित कानुनले निषेध गरेका अन्य क्षेत्रमा समेत लैजान निषेध गरेकोले यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयका तर्फबाट राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ७ : ०६ बजे