विनियमावली जारी



नेपाल राष्ट्र बैङ्कले बैङ्क खाता रोक्का र फुकुवासम्बन्धी व्यवस्था गर्न विनियमावली, २०८१ जारी गरेको छ ।

बैङ्क खाता रोक्का राख्न तथा रोक्का रहेका बैङ्क खाता फुकुवासम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ११० को व्यवस्थाबमोजिम विनियमावली जारी गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

हिजो असोज एक गतेदेखि नै लागू हुने गरी विनियमावली जारी भएको हो । विनियमावलीअनुसार प्रचलित कानुनबमोजिम कुनै कसुरको अनुसन्धानको सिलसिलामा अधिकारप्राप्त अधिकारीले राष्ट्र बैङ्कसमक्ष खाता रोक्का वा फुकुवाका लागि अनुरोध गर्नुपर्ने छ ।

विनियमावलीमा उल्लेख भए अनुसार बैङ्क खाता रोक्का वा फुकुवाका लागि सम्बन्धित अधिकार प्राप्त अधिकारीले राष्ट्र बैङ्कमा पत्र पठाउँदा यथाशीघ्र प्राप्त हुने गरी तोकिएको ठेगानामा पठाउनुपर्ने तथा यस्तो पत्र इमेलमार्फत पठाउन सकिने भएको छ ।

यस्तै विनियमावलीमा प्रचलित कानुनको अधीनमा रही कुनै इजाजतप्राप्त संस्थामा रहेको खाता रोक्का गर्नका लागि अधिकारप्राप्त अधिकारीले कानुनको व्यवस्था स्पष्ट उल्लेख गरी तोकिएका बेहोरा खुलाई राष्ट्र बैङ्कसमक्ष लिखित रूपमा अनुरोध गरेमा राष्ट्र बैङ्कले इजाजतप्राप्त संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिन सक्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ११ : ४२ बजे