जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधवार र बिहीवार चिसो बढ्न सक्ने पूर्वानुमान गरेको छ।
महाशाखाले आज (मंगलवार) दिउँसो विशेष बुलेटिन सार्वजनिक गर्दै हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण बुधवार अपराह्न सुदूरपश्चिम प्रदेश हुँदै बादल पूर्वतिर सर्ने जनाएको छ।
यो प्रणालीका कारण बुधवारदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा सामान्य वर्षादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।
पहाडी तथा तराईका केही भूभागका केही स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले बुधवार र बिहीवार तापक्रम घटेर चिसो बढ्ने तथा आउँदो शुक्रवारदेखि मौसममा सुधार हुने अनुमान गरेको छ।